काठमाडाैं- म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सु चीका वकिलले सेनाले लगाएको भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन्। नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)को सरकारमा रहँदा उनले भ्रष्टाचार गरेको सेनाले लगाएको आरोप अस्वीकार गरेका हुन्।
ब्रिगेडियर जनरल जा मिन तुनले बिहीबार पत्रकार सम्मेलनका क्रममा सरकारमा रहँदा अवैध तरिकाले सु चीले केही सुन र ६ लाख अमेरिकी डलर (९६ करोडभन्दा रुपैयाँ बढी) भ्रष्टाचार गरेको आरोप लगाएको थियो।
सु चीका वकिल खिन मंग ज्वाले त्यसलाई खण्डन गर्दै एएफपीलाई भने, ‘सु चीविरुद्ध लगाइएको यो आरोप निराधार छ, विशेष गरी डलर र सुनको। यो रमाइलो मजाक हो।’
उनले सु चीको नैतिक सिद्धान्तमा कमजोरी नभएको समेत बताए। ‘मैले त्यस्तो अवैध काम गरेको कहिल्यै देखेको छैन। उनीसँग अन्य कमजोरी हुन सक्छ तर नैतिक सिद्धान्तमा कमजोरी छैन,’ उनले भने।
नोभेम्बर २०२० को चुनावमा एनएलडीले बहुमत हासिल गरेको थियो। तर निर्वाचनमा धाँधली गरेको भन्दै सेनाले फेब्रुअरी १ मा सेनाले सु चीसहित केही नेतलाई पक्राउ गर्यो।
सु चीलाई पक्राउ गरेपछि सेनाले बिना इजाजतपत्र वाकीटकी राखेकाे र कोरोना भाइरसविरुद्ध लगाइएका प्रतिबन्ध उल्लंघन गरेको सहित धेरै आपराधिक आरोपहरू लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।