काठमाडौं- नेपाल प्रहरीले पहिलोपटक साढे २ किलो युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ। एक साता लामो अपरेसनपछि महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले साढे २ किलो युरेनियमसहित ४ जनालाई पक्राउ गरेको हो।
काठमाडौं-६ बौद्धबाट पक्राउ गरिएकाहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी-५ बस्ने ४० वर्षीय नारायणसिंह तामाङ, काठमाडौं बौद्ध बस्ने रामेछाप लिखु तामाकोशी-५ घर भएकी ४० वर्षीया जानुका तामाङ, मन्थली नगरपालिका-४, बागजोर बस्ने २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी-४ बस्ने २० वर्षीय मनोज न्यौपाने छन्। पक्राउ परेकाहरूविरुद्ध विस्फोटक पदार्थसम्बन्धी ऐन २०१८ अनुसार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।
युरेनियमको गैरकानुनी कारोबार हुन लागेको सूचना आएपछि अपरेसनमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट समेत युरेनियम-२३८ भनेर पुष्टि भएको प्रारम्भिक रिपोर्ट आएको मेट्रोका एआइजी हरिबहादुर पालले जानकारी दिए। ‘बरामद भएको पदार्थ युरेनियम नै भएको भनेर नास्टले रिपोर्ट दिएको छ,’ एआइजी पालले भने। प्रहरीले मार्च ३ मा बरामद वस्तु युरेनियम भएको भनेर प्रारम्भिक रिपोर्टसमेत दिइसकेको एआइजी पालले बताए। युरेनियमका २ क्याटोगेरी हुन्छन्, २३५ र २३८। युरेनियम-२३८ लाई नै प्रशोधन गरेर युरेनियम-२३५ बनाइन्छ।
२० वर्षअघि नेपाल भित्रिएको थियो युरेनियम, प्रहरी ग्राहक बनेपछि खुल्यो रहस्य
बरामद युरेनियम २० वर्षअघि नेपालमा भित्रिएको प्रहरीको दाबी छ। भारतमा खानीमा काम गर्ने अमर लामा भन्ने व्यक्तिले २० वर्षअघि उक्त युरेनियम ल्याएको प्रहरीको भनाइ छ। लामा हाल अमेरिकामा छन्। उनलाई प्यारलाइसिस भएको छ। उनलाई नेपाल ल्याउने विषयमा प्रहरीले प्रक्रिया अघि बढाइने बताएको छ।

बरामद भएको युरेनियम लामाकी आफन्तसमेत रहेकी जानुकासँग थियो। घरमा युरेनियम भएको थाहा पाएपछि बेच्दा ठूलो रकम आउने जानकारी पाएपछि उनले बजार खोज्न सुरु गरेकी थिइन्। युरेनियम बेच्ने ग्राहक खोज्ने क्रममा जानुकाको नारायण सिंहसँग सम्पर्क भएको थियो। बहुमूल्य पदार्थ भएका कारण ठूलै रकम कमिसन पाउने भएपछि नारायणले ग्राहक खोज्ने काम सुरु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
युरेनियम किन्न मानिस खोज्ने जिम्मा नारायणले मनोज र प्रकाशलाई दिएका थिए। उक्त युरेनियम बेचे २/२ करोड रुपैयाँ दिने जानुका र नारायणले उनीहरूलाई बताएका थिए।
उक्त सूचना प्रहरीसम्म पुगेपछि प्रहरी आफैं ग्राहक बनेर युरेनियम किन्न पुगेको थियो। छद्म भेषमा प्रहरीले १ अर्ब ५ करोड रुपैयाँमा डिल गरेर युरेनियम किन्न खोजेको थियो। त्यसपछि उनीहरु पक्राउ परेका हुन्। उक्त युरेनियम घरको कोठाको कुनामा डिब्बाभित्र लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो।
के हुन्छ बरामद युरेनियम?
नेपालमा रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ जारी भइरकेको छ। युरेनियमसहित पक्राउ परेकालाई यही ऐनअनुसार कारबाही गर्ने बाटो समेत रहन्छ। बरामद युरेनियम के हुन्छ भन्नेबारे जिज्ञासा राख्दा एआइजी पालले ऐनअनुसार रहने निर्देशक समितिको निर्णयमा भर पर्ने बताए। निर्देशक समितिमा विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष हुन्छन्। यस्तै सेनापति, नेपाल प्रहरीका आइजी, सशस्त्रका आइजी, गृह मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, रक्षा सचिवलगायतका १३ सदस्य हुन्छन्।
ऐनमा इजाजतपत्र नलिई युरेनियम आयनीकरण गर्ने, विकिरण उत्पन्न गर्ने, उपकरण उत्पादन गर्ने, संकलन गर्ने, भण्डारण गर्ने, सञ्चय, निकासी, पैठारी, ढुवानी र आसोरपसार गर्न नहुने उल्लेख छ।
के हो युरेनियम?
युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो। पारमाणविक धार हुने यो धातुले लगातार विकिरणहरू फ्याँकिरहने भएकाले यसको आयु सीमित हुन्छ। विशेषज्ञहरूले मात्र युरेनियमको शक्ति मापन गर्न सक्छन्, यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ। युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन् युरेनियम–२३८ र युरेनियम–२३५।
प्राकृतिक रूपमा युरेनियम–२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ। एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विधुत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ।
युरोपियन न्युक्लियर सोसाइटीको अध्ययनअनुसार एक किलो कोइलाबाट ८ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ। तर, एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ।
स्वास्थ्य उपचारका सामग्री एक्सरे, एमआरआई लगायतमा पनि युरेनियम प्रयोग हुन्छ। युरेनियमले विकिरण पैदा गर्छ। खानीको स्पर्शमा आउँदा जीवजन्तु र मानव जातिलाई विभिन्न प्रतिकूल असर परिरहेको हुन्छ।
बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फिनल्यान्ड, फ्रान्स, हंगेरी, जापान, दक्षिण कोरिया, स्लोभाकिया, स्लोभेनिया, स्वीडेन, स्विट्जरल्यान्ड र युक्रेनमा ३० प्रतिशत वा योभन्दा बढी बिजुली सबै आणविक भट्टीबाट उत्पादन हुन्छ।
बालुवासँग मिश्रित युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ। ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ। काजकास्तान, क्यानडा, अस्ट्रेलिया, नामिबिया, रसियालगायत मुलुकमा युरेनियमको बढी उत्पादन हुन्छ।
सन् १९४५ युरेनियम-२३५ बाट निर्मित 'लिटिल ब्वाय' र युरेनियम–२३८ बाट परिमार्जित गरेर बनाइएको 'फ्याटम्यान' नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइँदा करिब ७५ हजार मानिस मारिए भने ५० हजार भवनहरू ध्वस्त भएका थिए।
(यसअघि समाचारमा 'मन्थली नगरपालिका-४, बागजोर' हुनुपर्नेमा प्रहरीको विज्ञप्तिमा उल्लेख 'बागजोर नगरपालिका' पर्न गएकाले क्षमायाचनासहित सच्याइएको छ। - सम्पादक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।