काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौं उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका सुकुमवासी समुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन् । वर्षौंदेखि दोहोरिँदै आएको बाढीको जोखिम र मानवीय संकटलाई ध्यानमा राख्दै अब स्थायी समाधानतर्फ सरकार अघि बढ्न लागेको उनको भनाइ छ ।
हरेक वर्ष बाढीका कारण नदीकिनारका हजारौं मानिसले ज्यान जोगाउन घर–सामान छाडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गर्दै उनले यस्तो जोखिमपूर्ण बसोबासलाई निरन्तरता दिनु उचित नहुने बताए । 'अब पनि कुनै ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने ?' उनले सामाजिक सञ्जालमा भनेका छन् ।
थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले स्थानान्तरण गरिने उनको भनाइ छ । 'यसले एकातर्फ बाढीबाट हुने मानवीय क्षति न्यूनीकरण गर्नेछ भने अर्कोतर्फ काठमाडौँको ढल निकास प्रणाली सुधारमा पनि सहयोग पुग्छ,' उनले भनेका छन् ।
उनले सुकुम्बासी व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर नीति अनुसार व्यवस्थापन गरिने बताए। देशभरका वास्तविक सुकुम्बासीलाई प्रक्रिया पूरा गरी यथाशीघ्र जग्गा वितरण गर्ने प्रतिबद्धता पनि उनले दोहोर्याएका छन् ।
सरकारको ‘१०० दिनभित्र गर्नै पर्ने काम’ अन्तर्गत सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणसम्बन्धी बुँदाहरू कार्यान्वयनमा ल्याइने उनले स्पष्ट पारे। प्रधानमन्त्री शाहले वर्षौँदेखि थाँती रहँदै आएको सुकुम्बासी समस्याको स्थायी समाधान यही सरकारले गर्ने दाबी गर्दै नागरिकलाई ढुक्क रहन आग्रह गरेका छन्। 'वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ। ढुक्क हुनुहोस्,' उनले भनेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।