काठमाडौँ- प्रहरी विराटनगर महानगरपालिकाबाट तास खेलिरहेका ६ जनालाई बुधबार राति पक्राउ गरेको छ।
राति करिब ८ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा विराटनगर-६ का ५७ वर्षीय खगेन्द्र गिरी र ४२ वर्षीय लक्ष्मण सहनी, विराटनगर-१० का ६१ वर्षीय सुरेन्द्रबहादुर कार्की, विराटनगर-१२ का ५७ वर्षीय भरत प्रसाईँ र ५६ वर्षीय राजु रन्जितकार तथा विराटनगर-१३ का ६२ वर्षीय एतनकुमार खड्का रहेका छन्।
प्रहरीका अनुसार खाली घरमा नियमित रूपमा तास खेल्ने गरिएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकाको साथबाट तीन बुक तास, नेपाली ४४ हजार १ सय ६५ रुपैयाँ र भारतीय २ हजार ५ सय रुपैयाँ बरामद गरेको छ। उक्त घरमा एसी जडान गरेर जुवा खेल्न मिल्ने गरी व्यवस्थित गरिएको पाइएकोसमेत प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।