काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुबीच छलफल भएको छ। छलफलमा जसपाले कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा उभिने परिस्थिति बन्नुपर्नेमा जोड दिएको छ।
'राष्ट्रिय राजनीतिले एउटा निकास लिनुपर्ने र त्यो निकासतर्फ अगाडि बढ्दै गर्दाखेरी कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा उभिने परिस्थिति विकास हुनु उचित हुन्छ भन्ने धारणा उहाँहरुबाट आयो', बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।
उनले अहिलेको सन्दर्भमा सबैबाट एउटा साझा धारणा राष्ट्रिय रुपमा निर्माण हुनुपर्ने मत अभिमत व्यक्त भएको उनले बताए। 'अहिले ठोस रुपमा यो निर्णयमा पुग्यौं भनेर भनिहाल्ने अवस्था बनेको छैन। तर, संसद्को पुनःस्थापनापछाडि अबको राष्ट्रिय राजनीति हिँड्ने बाटोको सन्दर्भमा खासगरी प्रमुख प्रतिपक्षी दलले विशेष अग्रसरता लिनुपर्छ भन्ने सन्दर्भमा उहाँहरुले अपेक्षा राख्नुभयो', उनले भने।
जसपासँगको भेटअघि कांग्रेसको पदाधिकारी बैठक बसेको थियो। बैठकमा खुला रुपमा संवाद गरेर एउटा निष्कर्षमा राष्ट्रिय राजनीतिलाई लिएर जानुपर्छ भनेर गहन संवाद भएको शर्माले बताए। 'केपी ओली सरकारका सन्दर्भमा एउटा धारणा निर्माण गरिसकेपछि उचित विकल्पमा पुग्नुपर्छ भन्ने मतहरु व्यक्त भएको छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।