काठमाडौं- संसदीय दलको बैठकअघि जसपाका शीर्ष नेताहरू छुट्टै छलफलमा बसेका छन्। जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोबीच सिंहदरबारस्थित संसदीय दलको कार्यालयकाे अर्को कक्षमा छुट्टै छलफल चलिरहेको छ।
छलफलमा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भने अनुपस्थित छन्। शीर्ष नेताहरूको छलफल सकिएपछि संसदीय दलकाे बैठक बस्नेछ। बैठकका लागि सांसदहरू दलकाे कार्यालय पुगिसकेका छन्।
बैठकमा बिहीबार एमालेका अध्यक्ष ओलीसँगको छलफलमा भएका कुराबारे शीर्ष नेताले जानकारी गराउनेछन्। बिहीबार साँझ जसपाका शीर्ष नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए।
पछिल्लो रानजीतिक घटनाक्रमसँगै सत्ताको प्रमुख निर्णायक शक्ति बन्न सक्ने जसपामा पछिल्लो समय सत्तामा जाने या नजाने विषयमा बहस सुरु भएको छ।
जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले सत्ताको खेलमा लाग्न नहुने बताइरहँदा पार्टीको एक समूह भने सत्ता सहकार्यको छलफलमा व्यस्त छ। आजको बैठकमा सत्ता समीकरणबारे विशेष छलफल हुने जसपाका एक नेताले बताए।
गत वैशाख १० गते राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीबीच एकीकरण गरी बनाइएको जसपामा हालसम्म संसदीय दलको नेता चयन भएको छैन।
आजको बैठकले यो विषयमा समेत निर्णय गर्ने बताइए पनि सम्भावना कम रहेको समाजवादीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए। उनका अनुसार आज दलकै विधान मात्रै टुंगिनेछ। संसदीय दलको नेतामा राजेन्द्र महतो र उपेन्द्र यादवको दाबी छ।
जसपाले आजै दिउँसो ४ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्नेछ। देउवासँगको छलफल दिउँसो ४ बजेलाई तय भएको छ। जसपाका केही नेताले यसअघि माओवादी केन्द्रका नेताहरूसँग पनि छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।