काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने विषयमा अनौपचारिक छलफल सुरु गरेको छ। फागुन २५ गते बसेको स्थायी कमिटी बैठकले बनाएको चार सदस्यीय कार्यदलमा पार्टीको नामका विषयमा अनौपचारिक छलफल भएको हो। कार्यदलमा जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र पम्फा भुसाल छन्।
माओवादी केन्द्रको नाम फेर्ने कि गर्ने भन्ने विषयमा ठोस निर्णय भने भइनसकेको कार्यदलका एक सदस्यले बताए। सर्वाेच्च अदालते नेकपा नाम ऋषि कट्टेलको पार्टीकै भएकाे फैसला गर्दै एमाले- माओवादी ब्युँताइदिएको छ।
२०७५ जेठ ३ गते एकता गरेका एमाले- माओवादी अहिले अलग-अलग हुन पुगेका छन्। अदालतको फैसला र बद्लिँदो राजनीतिक अवस्थाका कारण नाम फर्ने विषयमा माओवादीभित्र छलफल चलेको हो।
‘समग्र संगठनको अवस्था कुन कहाँ कस्तो छ भन्ने विषयमा कुरा हुँदा पार्टीको नाम फेर्ने कि भन्ने अनौपचारिक छलफल मात्रै भएको हो’ कार्यदलमा रहेका एक सदस्यले भने, ‘अहिले नै पार्टीको नाम फेर्ने भन्ने होइन। संगठनको अवस्थाका विषयमा भने चैत १ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेश हुनेगरी काम गरिरहेका छौं।’
कार्यदलले नाम फेर्ने वा नफेर्ने भन्ने विषय पार्टी कमिटी बैठकमा लैजाने सम्भावना भने कम देखिएको ती नेताले बताए। चार सदस्यीय कार्यदलले माओवादी केन्द्रको समग्र संगठन र पार्टीको सम्पत्तिका विषयमा अध्ययन गरेर केन्द्रीय कमिटीमा पेश गर्ने गरी काम गरिरहेको छ।
चैत १ गते बस्ने केन्द्रीय कमिटी बैठकमा नेकपा हुँदादेखिकै २ सय केन्द्रीय सदस्य मात्रै सहभागी हुने भएका छन्। पार्टीको नाम फेर्ने विषयमा औपचारिक रुपमा कुनै कमिटीमा छलफल नभएको स्थायी कमिटी सदस्य गणेश साहले दाबी गरे।
‘पार्टीको नाम ठूलो कुरा भएन, काम ठूलो कुरा हो’ साहले भने, ‘नाम राख्ने विषयमा प्रचण्ड कमरेडपनि त्यति रिजिट हुनुहुन्छ जस्तो लाग्दैन। अन्य शक्तिहरुसँग एकता गर्नुपर्ने अवस्था आए नाम परिवर्तन हुन सक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।