फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूबीचको कुराकानी सकारात्मक भएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन्। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सकारात्मक छलफल भएको र शुक्रबार पनि छलफल हुने उनले बताएका हुन्।
'उहाँहरूसँग कुराकानी भइरहेको छ। शीर्ष तहमा पनि बसिएको थियो। भोलि पनि कुराकानी हुन्छ। निरन्तर चल्छ। सकारात्मक छ,' नेम्वाङले नेपाल लाइभसँग भने।
भेटमा जसपा नेताहरूले मधेश आन्दोलनमा जोडिएका नेता/कार्यकर्ताहरूलाई रिहा गर्नुपर्ने माग गरेका थिए। 'मधेश आन्दोलनमा जोडिएकाहरूको रिहाइ हुनुपर्छ भन्ने उहाँहरूको माग छ,' नेम्वाङको भनाइ छ। जसपा ओली नेतृत्वको सरकारमा सहभागी हुने/नहुने विषय भने टुंगो नलागेको उनले बताए।
जसपाका ५ जना शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। बिहीबार बसेको जसपाका शीर्ष नेताहरूको बैठकले सबै दलसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको थियो।
नेकपा एमाले र कांग्रेस तथा नेकपा माओवादी केन्द्रको गठबन्धन सरकार निर्माणका लागि जसपा अत्यावश्यक बनेको छ। जसपाले समर्थन गर्ने गठबन्धनकै सरकार निर्माण हुने अवस्था छ। यद्यपि सरकारमा सहभागी हुने विषयमा जसपा एकमत छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।