फाइल तस्बिर
काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीविरुद्ध तत्कालीन नेकपाको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई अर्को ‘जनयुद्ध’को संज्ञा दिएका छन्। माओवादी निकट नमुना स्वास्थ्यकर्मी संघको राष्ट्रिय भेलामा बोल्दै प्रचण्डले आफूले तत्कालीन नेकपा सचिवालय बैठकमा पेस गरेको १९ पृष्ठको प्रतिवेदनलाई अर्को 'जनयुद्ध'को संज्ञा दिएका हुन्।
‘केपी प्रवृत्तिविरुद्ध लड्नुपर्छ भनेर नै प्रतिवदेन लेखेको हुँ। त्यो प्रतिवेदन लेख्दै गर्दा अर्को तरिकाले जनयुद्ध गर्न लागेको भान मलाई भएको थियो,’ प्रचण्डले भने, ''ब्याटल' जित्यौँ, 'वार' जितेका छैनौं।’ एकप्रकारको शान्तिपूर्ण युद्ध अहिले पनि निरन्तर रहेको उल्लेख गर्दै प्रचण्डले प्रतिनिधि सभा पुर्नबहालीले 'ब्याटल' जितेको उनले बताए।
आफ्नै खुट्टामा उभिने र आफ्नै धर्तिसँग जोडिने अभियान सुरु गरेको समेत उनले बताए। केही समय यताउता भएको बताउँदै प्रचण्डले क्रान्तिकारीहरू नै आफूहरूको आधार भएको बताए।
‘देशव्यापी अभियान चलाउने सोचिरहेको छु। उपलब्धिलाई परास्त गर्न लागेका छन्। २/४ वर्ष काठमाडौं बाहिरै बसेर त्यसविरुद्ध लड्ने बस्ने सोंचमा छु,’ चीनमा माओत्सुङले ७२ वर्षको उमेरमा सांस्कृतिक क्रान्ति गरेको स्मरण गर्दै उनले भने, ‘म ६७ वर्षको भएँ। उपलब्धि गुम्न लागेका छन्। म छोड्नेवाला छैन।’
पार्टीभित्र विवाद बढ्दै गएपछि प्रचण्डले १९ पृष्ठको छुट्टै प्रतिवदेन तत्कालीन नेकपाको सचिवालय बैठकमा पेस गरेका थिए। उक्त प्रस्ताव फिर्ता गर्न ओली पक्षले दबाब दिएपनि प्रचण्डले छलफलको विषय हुनुपर्नेमा जोड दिएका थिए। प्रचण्डको उक्त प्रतिवदेनपछि विवाद बढेर नेकपा विभाजन उन्मुख भएको थियो। फागुन २३ मा सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई अवैधानिक भएको उल्लेख गरेपछि दुवै पार्टी एकताअघिकै अवस्थामा फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।