काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक भर्खरै सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने वा नजाने भन्ने विषयमा दुई धार भएपछि पार्टी कार्यालय कुमारीपाटीमा आज पनि पदाधिकारी बैठक बसेको हो।
यसअघि बुधबार बसेको जसपाको पदाधिकारी बैठक कुनै निर्णय गर्न सकेको थिएन। आजको बैठकबाट सर्वसम्मत निर्णय गर्ने उसकाे तयारी छ।जसपाभित्र तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) पक्ष सरकारमा जाने र समाजवादी पार्टी नजाने लाइनमा प्रस्तुत भएपछि विवाद बढेको छ।
तर, जसपाका अधिकांश नेता/कार्यकर्ताले संविधान संशोधनसहित रेशम चौधरीलाई रिहा गर्नुपर्ने, मुद्दा फिर्तालगायत विषयलाई केन्द्रमा राखेर सरकारमा जाने/ नजाने निर्णय गर्नुपर्ने मत राखेका छन्।
जसपाले सरकारलाई सहयोग गर्दा ओली नेतृत्वको सरकार यथावत रहनेछ। यदि, ओली सरकारलाई सहयोग नगरी कांग्रेस- माओवादी केन्द्रको गठबन्धनलाई सहयोग गरे नयाँ सरकार बन्नेछ।
जसपाले जसलाई सहयोग गर्यो,उसैको सरकार बन्ने भएकाले जसपा सत्ता समीकरणको निर्णायक ठाउँमा छ। त्यसैले जसपाको आज बस्ने पदाधिकारी बैठकको निर्णयलाई महत्वका साथ हेरिएको छ।
पदाधिकारी बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, बाबुराम भट्टराई र अशोक राई सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।