काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वैधानिकता नपाएसँगै अल्पमतमा परेको आफ्नो सरकार टिकाउन हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीलाई छुटाउने आश्वासन जनता समाजवादी पार्टी (जसपा)लाई दिएका छन्।
सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएपछि नेकपा तत्कालीन एमाले र माओवादी केन्द्रका रुपमा ब्युँतिएको छ। प्रधानमन्त्री ओली एमालेका अध्यक्षसमेत हुन्।
प्रधानमन्त्रीका तर्फबाट जसपाका नेताहरुलाई भेटेका एमाले नेताहरुले यस्तो आश्वासन दिएका हुन्। ‘तपाईंहरु सरकारमा आउनुपर्यो, रेशम चौधरीलाई जेलबाट छाड्ने लगायत तपाईंहरुका माग हामी पूरा गर्छौं भनेर उहाँहरुले भन्नुभो’, जसपाको नेतृत्व तहमा रहेका एक नेताले नेपाल लाइभसँग भने, ‘हामीले चाहिँ पहिले हाम्रा जे जति माग छन्, ती पूरा गनुस् भनेका छौं।’
प्रधानमन्त्री ओलीका तर्फबाट एमाले नेताहरु सुवासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जसपाका नेताहरुसँग छलफल गरेका थिए।
चौधरी २०७२ भदौमा भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त हुन्। टीकापुर घटनामा एकजना नाबालकसहित आठजना सुरक्षाकर्मीको हत्या भएको थियो। चौधरी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा जसपा (तत्कालीन राष्ट्रिय जनता पार्टी)का तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य हुन्।
नेकपा अलग-अलग भएपछि माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छ। त्यसो हुँदा सरकार जोगाउन प्रधानमन्त्री ओलीलाई जसपाको सहयोग नभई नहुने हुनसक्छ।
नेम्वाङले पनि रेशम चौधरी लगायतका मुद्दामा प्रधानमन्त्री ओली सकारात्मक रहेको र जसपाका नेताहरुसँग कुरा भइरहेको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा नेम्वाङले यो विषयमा संवाद भइरहेको पुष्टि गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।