काठमाडौं– च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा बुधबार राति दुई खेल हुँदै छन्। जसमा इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब लाइपजिग साथै स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पिएसजी खेल्नेछन्। खेल नेपाली समयअनुसार राति पौने २ बजे हुनेछ।
लिभरपुल र लाइपजिगबीच प्रतिस्पर्धात्मक खेलमा यो दोस्रो भेट हो। यसअघि पहिलो लेगमा भएको भेटमा लिभरपुलले लाइपजिगलाई २–० ले हराएको थियो। जसमा मोहम्मद सलाह र सडियो मानेले गोल गरेका थिए। गएको सिजन सेमिफाइनलसम्म पुगेको लाइपजिगसँगको खेल लिभरपुललाई दोस्रो लेगमा उति सहज हुने छैन।
यो सिजन लिभरपुल प्रिमियर लिगमा कमजोर देखिइरहँदा पनि उनीहरुको खेलमाथिको विश्वास टुटेको छ। लिभरपुल लिगमा आठौँ स्थानमा रहेको छ। जहाँ बुन्डेस लिगामा लाइपजिग बायर्न म्युनिकभन्दा तल दोस्रो स्थानमा रहेको छ। लाइपजिगले च्याम्पियन्स लिगमा अहिलेसम्म खेलेका २३ खेलमा १२ खेल जितेको छ। ८ खेल हारेको छ भने ३ खेल बराबरी खेलेको छ।
लिभरपुल च्याम्पियन्स लिगमा १३औँ पटक खेलिरहेको छ, जसमा यो नवौँ पटक अन्तिम १६ को खेलमा खेल्दै छ।
के भन्छन् प्रशिक्षक?
जुलियन नागेल्सम्यान, लाइपजिग– यो सहज खेल हुने छैन। यो कुरा खेलाडीलाई पनि थाहा छ र मलाई पनि थाहा छ। पहिलो लेगमा हामीले गरेका जस्ता गल्तीहरु यो खेलमा गर्नु हुँदैन। हामीले आफूले सक्नेजति सबै मेहनत गर्नेछौँ र राम्रो खेल देखाउने सोचिरहेका छौँ। हामीले उत्कृष्ट ‘कमब्याक’को भिडियो हेरेका त छैनौँ तर खेलाडीलाई फुटबल इतिहासका उत्कृष्ट क्षणहरु थाहा छ।
योर्गेन क्लोप, लिभरपुल– च्याम्पियन्स लिगमा हामी लयमा नै छौँ। लाइपजिग पनि पछिल्ला खेलमा राम्रो गरिरहेको छ। तर पुरानो नतिजाले खेलमा फरक पर्ने छैन। हामीले कसरी च्याम्पियन्स लिग जित्न सक्छौँ? त्यसमा दुई कुरा छ, उत्कृष्ट फुटबल खेल र हरेक खेलमा हुने अवसर। यो मध्यान्तरको समय हो, हामीले अझै राम्रो खेल्नुछ। मलाई हामीमा पूर्ण विश्वास छ।
सम्भावित सुरुवाती ११
लाइपजिग– गुलची, एडम्स, मुकिले, उपामेकानो, क्लस्टरमेन, सबित्जर, काम्पल, हैडर, एनकुनकु, ओल्मो र पोउलसेन।
लिभरपुल– एलिसन, अलेक्जेण्डर आर्नोल्ड, फाबिन्हो, फिलिप्स, रोबर्टसन, जोन्स, विज्नाल्डम, थियागो अलकान्टारा, जोटा, सलाह र माने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।