काठमाडौं–नेपालका लागि जेसीबी हेभी तथा निर्माण उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्सले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा निर्माण क्षेत्रमा सक्रिय महिलालाई सम्मान गरेको छ।
एमएडब्लुले हाइड्रो डेभलपर, कन्ट्रयाक्टर, अपरेटर र अथराइज्ड रिटेल आउटलेटका सञ्चालक गरी १३ जना महिलालाई सम्मान गरेको हो। एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवालले उनीहरूलाई सम्मान गरेकी हुन्।
कार्यक्रममा एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक अग्रवालले निर्माण क्षेत्रमा महिला सहभागिता बढाउने उद्देश्यले अपरेटर वा मेकानिकको तालिम लिन चाहने महिलालाई ६७ प्रतिशतसम्म छात्रवृत्ति दिने घोषणा गरिन्।
‘महिला कुनै पनि हिसाबले पुरुषभन्दा कम हुँदैनन् । अहिले निर्माण क्षेत्रमा महिलाको सहभागिता कम छ,’ उनले भनिन्, महिलालाई यो क्षेत्रमा काम गर्न प्रोत्साहित गर्न एमएडब्लु स्किल एकेडेमीसँगको सहकार्यमा गरेर तालिम लिन चाहने महिलालाई दुईतिहाई छात्रवृत्ति दिने भएका छौं।’
अहिलेलाई पाइलट प्रोजेक्टका रुपमा सुरु भएको यो कार्यक्रम सफल भएमा पाँच वर्षभित्र एक हजार महिलालाई मेसिन अपरेटर, मेकानिक वा इन्जिनियर क्षेत्रको तालिमका लागि छात्रवृत्ति दिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।