काठमाडौं–विघटित प्रतिनिधि सभा पुनःस्थापनापछि बुधबार दोस्रो बैठक बस्दै छ। गत आइतबार बसेको पहिलो बैठक प्रतिपक्षीको विरोधपछि स्थगित भएको थियो।आजको बैठकमा विभिन्न ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ।
यसअघि यही फागुन २३ गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध पारेको थियो। –तत्कालीन नेकपाको माधव–प्रचण्ड पक्षका सांसदले पनि बैठक बहिष्कार गरेका थिए।
संसदमा भएकाे विरोधपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगन गरी फागुन २६ का लागि अर्काे बैठक बोलाएका थिए।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यक्रम छ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेशसमेत पेस गर्ने बताइएको छ।
यस्तै आजको कार्यसूचीमा पूर्व तथा बहालवाला गरी १४ सांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने विषय पनि समावेश छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।