काठमाडाैं– जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको सत्ता सहकार्यको प्रस्ताव तत्काल स्वीकार नगर्ने निर्णय गरेको छ। सत्ता सहकार्यका विषयमा सरकार, एमाले, माओवादी केन्द्र, कांग्रेस लगायतसँग वार्ता गर्न कार्यदल निर्माण गर्ने निर्णयसमेत उसले गरेको छ।
मंगलबार बसेको संसदीय दलको बैठकमा बोलेका करिब ९० प्रतिशत सांसदले सत्ता सहकार्यलाई प्राथमिकतामा नराख्न सुझाव दिएको जसपाका नेता एवं सांसद मोहम्मद इस्तियाक राईले बताए। ‘संसदीय दलले यिनै सुझाव पार्टीलाई दिएको छ, अब पार्टीले निर्णय गर्छ’, उनले भने।
राईले जेलमा रहेका आफ्नो पार्टीका नेता र कार्यकर्ताको रिहाई, झुटा मुद्दा खारेजी, सहिद परिवारलाई क्षतिपूर्ति, संविधान संशोधन लगायतका मुद्दामा सरकार र सबै दलसँग संवाद गर्न बुधबार साँझ साढे पाँच बजे कार्यदल गठन गरेर सार्वजनिक गरिने जानकारी समेत दिए।
‘यी सबै मुद्दा सम्बोधन भएपछि मात्र सत्ता सहकार्यबारे कुरा गर्न सकिन्छ भन्ने आजको बैठकको निचोड हो’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।