काठमाडाैं– प्रतिनिधि सभा विघटनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई चिरा परेपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपालले नेतृत्व गरेका दुवै पक्षमा लाग्न अस्वीकार गर्दै सो पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफू तटस्थ रहने निर्णय गरे। अनि लगत्तै ‘एकता अभियान’ घोषणा गरे।
यसबीचमा उनले ओली र प्रचण्ड दुवैसँग भेटेर छलफल गरे पनि कतैतिर नढल्कने, बरु नेकपाको एकतालाई सफल बनाएरै छाड्ने अठोट लिए।
त्यहीबीचमा पुस २३ गतेको राष्ट्रिय सभा बैठकमा बोल्ने क्रममा उनले केही रोचक कुरा गरेका थिए। त्यस दिनको राष्ट्रिय सभा बैठकमा गौतमले सर्वोच्च अदालतले नेकपाको नाम सम्बन्धी विवादमा सुनाउने फैसलाले नेकपाका दुई घटक एमाले र माओवादी केन्द्रलाई पूरानै अवस्थामा फर्काउन सक्ने बताएका थिए।
त्यसबेला सर्वोच्चले नेकपाको नाम सम्बन्धी विवादको मुद्दा सुनुवाई गर्न थालेको थियो। ऋषि कट्टेलले नेकपा नामको पार्टी पहिल्यै आफूले दर्ता गरेको र त्यसलाई खोसिएको भन्दै निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै दुई वर्ष पहिले रिट दायर गरेका थिए।
त्यही रिटतर्फ लक्ष्यित गर्दै गौतमले पुस २३ को राष्ट्रिय सभा बैठकमा भने, ‘त्यो विषय ऋषि कट्टेलको पक्षमा गयो भने नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्भवतः एउटा पक्ष नेकपा एमाले हुने होला, एउटा पक्ष नेकपा माओवादी केन्द्र भन्ने होला।’ उनले भनेका थिए, ‘त्यस्तो भयो भने के हुन्छ भन्ने एउटा अवस्था यहाँ छँदैछ।’
आइतबार सर्वोच्च अदालतले यो मुद्दामा फैसला गर्दै नेकपाले वैधता नपाउने, एमाले र माओवादी साविककै दल कायम हुने निर्णय सुनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।