काठमाडौं- नेकपाको प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकअघि माधवकुमार नेपाल पक्षका नेताहरूले छुट्टै भेला गरेका छन्।
बानेश्वरस्थित अर्याल होटलमा उनीहरुले छलफल गरेका हुन्। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि उनीहरुले आगामी रणनीतिका विषयमा अनौपचारिक छलफल गरेको बुझिएको छ।
भेलामा माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु र केन्द्रीय कमिटीका केही नेताहरु सहभागी थिए। प्रचण्ड-माधव समूहले ३ बजे स्थायी कमिटी बैठक बोलाएको छ।
सर्वोच्चको फैसलापछिको राजनीतिक अवस्थाका विषयमा बैठकमा छलफल हुने बताइएको छ। सर्वाेच्चले आइतबार नेकपा नाम विवाद मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला सुनाउँदै सत्तारुढ नेकपाको एकता खारेज गरिदिएको थियो।
सर्वाेच्चले साविक एमाले र माओवादी अलग अलग दल रहेको र एकता गर्ने चाहे निर्वाचन आयोगमा प्रक्रिया जानसक्ने बताएको। त्यसपछि नेकपाको केपी शर्मा ओली पक्षले धमाधम जिल्ला कार्यालय पुनःस्थापना गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।