काठमाडौं- जर्मन सवारी उत्पादक कम्पनीहरुको समूह फक्सवागन ग्रुपले भारतमा करिब ८ हजार करोड नयाँ लगानी गर्ने भएकाे छ।कम्पनीले उक्त लगानी स्कोडाको कार उत्पादनसहित अन्य ब्रान्डका उत्पादनका लागि खर्चने योजना बनाएको हो।
स्कोडाले भारतीय बजारमा ४ वटा नयाँ कार सार्वजनिक गर्ने तयारी गरेको छ। स्कोडाका नयाँ चार मोडल मारुती, हुन्डाई तथा टाटाका कारसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।
स्कोडाले भारतमै स्थानीय रुपमा सवारी उत्पादन गर्ने भएपछि सरकारले पार्टसको आयात सहज बनाउनु पर्ने र चार मिटरका कारमा दिँदै आएको विशेष कर सहुलियत अरुमा समेत दिनुपर्ने माग गरेको छ।
भारतीय अटोमोबाइल बजारमा २०२५ सम्ममा आफूहरुले ५ प्रतिशत बजार हिस्सा पुर्याउने लक्ष्य राखेको स्कोडा ग्लोबल बोर्डका अध्यक्ष थोमस सेफरले बताएको द इकोनोमिक टाइम्सले लेखेको छ।
भारतमा फक्सवागन ग्रुपका मुख्य गरि स्कोडा र फक्सवागनका कार बिक्री हुँदै आएका छन्। त्यस्तै कम्पनीको विलासी ब्रान्ड अउडी, पोर्स र लेम्बर्गिनीका कार समेत भारतीय बजारमा बिक्री हुन्छन्।
‘भारतमा हुन्डाईलगाय ब्रान्डका कारसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ जुन ग्लोबल रुपमा हाम्रो प्रतिस्पर्धी हो,’ थोमसले भनेका छन्, ‘हामी भारतीय उपभोक्तालाई हाम्रो कारप्रति कन्भिन्स गराउँछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।