काठमाडाैं- संविधानविद् विपीन अधिकारीले सर्वोच्च अदालतले नेकपाको नामसम्बन्धी विवादमा गरेको फैसला उचित भएको टिप्पणी गरेका छन्। उनले अब नेकपा विग्रहको कानुनी जटिलतालाई नआत्तिइकन समाधान गर्नुपर्नेसमेत बताएका छन्।
‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वैधानिकताका बारेमा सर्वोच्च अदालतले उचित फैसला गरेको छ’, अधिकारीले ट्विट गर्दै भनेका छन्, ‘निर्वाचन आयोगले अहिलेको नेकपाको विग्रहको कानुनी जटिलतालाई नआत्तिइकन समाधान गर्नुपर्ने हुन्छ।’
अधिकारीले यस सम्बन्धमा नेकपामा एकीकृत भएका दुवै समूहले अब निर्वाचन आयोगसँग सहकार्य गर्नुको विकल्प नरहेको समेत उल्लेख गरेका छन्।
सर्वोच्च अदालतले आइतबारको फैसलामार्फत् नेकपा नामको दल ऋषि कट्टेलको नेतृत्वमा रहेको पार्टी हुने निर्णय सुनाएको थियो। योसँगै सर्वोच्चले तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपाले वैधानिकता नपाउने निर्णयसमेत सुनाएको थियो।
एकीकरणका लागि एमाले र माओवादीले अब प्रक्रियाबमोजिम निर्वाचन आयोगमार्फत् समाधान खोज्नुपर्ने समेत सर्वोच्चले उल्लेख गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।