काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘बेठिक टाइम’को न्यायको संज्ञा दिएका छन्। उनले सर्वोच्च अदालतको फैसलालाई नमान्ने कुरा नभएपनि यसले विभिन्न ठाउँमा 'साइड इफेक्ट' पार्ने बताए।
संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कदै गर्दा संसद सचिवालय सिंहदरबारमा संचारकर्मीलाई फैसला बारे प्रारम्भिक प्रतिक्रिया दिँदै नेता गुरुङले अदालतको फैसलाले दलको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको ‘डेढलक’लाई अझै मद्दत पुग्न सक्ने बताए।
‘जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्वाचन आयोगमा परिरहेको बहसको सम्बन्धमा केहीकेही प्रभाव पार्न सक्छ भन्ने लाग्छ। अहिले चाहीँ उपयुक्त समय हो भन्ने देखिदैन। न्याय इनटाईममा दिनुपर्थ्यो। बेठिक टाइममा चाहीँ न्याय दिने काम भयो। यसले पार्ने साईड इफेक्टहरु के कस्तो पार्छ हाम्ले हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला। यसले निर्वाचन आयोगको डेढलकलाई अझ मद्दत पुग्न सक्छ,’ उनले भने।
फैसलासँगै पूर्वनेकपा एमाले र पूर्वनेकपा माओवादी केन्द्रलाई ब्यूँताई यथास्थानमा गर्यो भन्न नमिल्ने तर्कसमेत उनले गरे।
‘पार्टी एकीकरण पछि ३ वर्षमा धेरै कामहरु भएको छ। त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवहेव मेटिन सक्दैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।