काठमाडाैं- सर्वोच्च अदालतले नेकपा नाम विवादमा ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाउँदै तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएपछि सोही नाममा निर्वाचन आयोगमा दर्ता भएका दुई पार्टी के हुने अन्योल सिर्जना भएको छ।
आइतबार न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले २०७५ जेठ २३ मा भएको एकता अनुसार नेकपा नाम ओली–प्रचण्डलाई दिन नमिल्ने फैसला सुनाएपछि अन्योल बढेको हो।
निर्वाचन आयोगले दुईवटा पार्टीलाई नेकपा भनि दिएको नामलाई सर्वोच्चले वैधानिकता दिन अस्वीकार गरेपछि पछाडि दर्ता भएका पार्टीहरु के हुन्छ भन्ने अन्योलता पनि देखिएको हो।
गत प्रतिनिधि सभा निर्वाचनमा अलग अलग निर्वाचन लडेका एमाले र माओवादी पछिमात्र एक भएका थिए। दुई पार्टीको एकतापछि गोपाल किरातीले नेकपा माओवादी केन्द्र र सध्या तिवारीले नेकपा एमाले दर्ता गराएका थिए।
के हुन्छ किराती र सन्ध्याको पार्टी?
निर्वाचन आयोगका नाममा पनि सर्वोच्चले परमादेश जारी गरेको छ। सर्वोच्चले अब पार्टी एकीकृत हुन चाहेमा उनीहरुलाई राजनीतिक दल सम्बन्धी ऐन अनुसार अघि बढाउन सर्वोच्चले भनेको छ।
नेकपा एकीरण भएपछि खाली रहेको नेकपा (एमाले) झापाकी पूर्वएमाले कार्यकर्ता सध्या तिवारीले दर्ता गराएकी थिइन्। निर्वाचन आयोगले भदौ ३ गते नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी लेलिनवादी) दर्ता गरेको थियो । उक्त पार्टी दर्ता भएको ६ महिना नपुग्दै कायम नहुने देखिएको छ। अब यी दुई पार्टी फेरि मिलेर नयाँ पार्टीको रुपमा नाम नपाएसम्म तिवारीले पाएको पार्टीको नाम खारेज हुने छ।
त्यस्तै, माओवादी केन्द्र पार्टीको रुपमा पूर्वमाओवादी गोपाल किरातीले दल दर्ता गराएका छन्। किराँती तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट भएर अलग भएका थिए।
निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सूचीमा १२५औं स्थानमा माओवादी केन्द्र र १३२औं स्थानमा एमाले दर्ता छन्।
सर्वोच्चले फैसलापछि उनीहरुको दर्ता पनि स्वत: खारेज भएको कानुनविदहरुको तर्क छ। सर्वोच्चले पहिला दर्ता भएको आधारमा कट्टेललाई वैधानिकता दिएकाले उनीहरु पछि दर्ता हुँदैमा नाम नपाउने वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बताए। अब निर्वाचन आयोगको कोर्टमा बल पुगेकाले उसले पार्टीहरुको बारेमा बसेर निर्णय गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।