काठमाडौं- संसद् सचिवालयले आइतबार सुरु हुने हिउँदे अधिवेशनका लागि विगतमै जस्तो सिट व्यवस्थापन गरिएको जानकारी दिएको छ।
बैठक सुरु हुनुअघि त्यसको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेकपा औपचारिक रुपमा एउटै भएकाले पुरानै सिट व्यवस्थालाई निरन्तरता दिइएको बताए।
'अहिले सत्तारुढ नेकपाको दुई वटा समूहको छलफल चलिरहेको अवस्थामा हामीकहाँ औपचारिक रुपमा दल विभाजन भएको पत्र नभएको कारणले पनि र अहिले दल एउटै भएको अवस्थामा सदनमा सिट व्यवस्थापन गर्ने क्रममा सत्ता पक्षकै लाइनमा माननीय सदस्यहरुको व्यवस्थापन गरिएको अवस्था छ', उनले भने।
उनले सचिवालयले सत्ता पक्षको सबै सांसदहरूलाई एकैपट्टि चारवटा 'कोलम'मा बस्ने व्यवस्था गरेको जानकारी दिए। 'उहाँहरु आफ्नो अनुकूलतामा बस्न सक्ने वातावरण बन्छ होला। त्यहाँभन्दा फरक व्यवस्था गरिएको छैन', उनले भने।
पाण्डेले दलभित्र आफ्ना विभिन्न विवाद, छलफल र आपसी बहस हुनु स्वभाविक भएको बताए।
उनले कोरोना जोखिमका कारण दूरी कायम हुने गरी बस्ने व्यवस्था गरिएको पनि जानकारी गराए। अहिलेसम्म कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसकेको उनले जानकारी दिए।
आइतबारको बैठकमा अध्यादेश, शोक प्रस्ताव र राष्ट्रपतिको प्रस्ताव आउने स्वभाविक भए पनि बाँकी कुरा सभामुख र दलका नेताहरुबीचको आपसी परामर्शबाट टुंगिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।