काठमाडाैं- नेकपाका नवनियुक्त प्रमुख सचेतक विशाल भट्टराईलाई कार्यव्यवस्था परामर्श समितिको बैठकमा आमन्त्रण गर्ने/नगर्ने सभामुख अग्निप्रसाद सापकोटाको स्वविवेकको विषय भएको संसद सचिवालयले जनाएको छ।
संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले कार्य व्यवस्था समितिमा बोलाउने व्यक्तिको चयन गर्ने अधिकार सभामुखमा निहीत रहेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका प्रमुख सचेतक भट्टराईलाई कार्य व्यवस्था समिति बैठकमा बोलाउन सभामुख बाध्यकारी नहुने पनि उनले बताए।
पुनःस्थापित प्रतिनिधि सभाको बैठकको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेले संसद नियमावली अनुसार सभामुखले आवश्यकता महसुस गरे बोलाउन सक्ने बताए।
नेकपा संंसदीय दलका नेता एवं प्रधानमन्त्री ओलीले नियुक्त गरेका भट्टराई र प्रचण्ड-माधव पक्षले अस्विकार गरेका दुवै निर्णय संसद सचिवालयमा आएको उनले बताए।
प्रधानमन्त्रीले हटाएका देव गुरुङ र नवनियुक्त भट्टराई दुवैले प्रमुख सचेतकको सेवा सुविधा लिइरहेको संसद सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।