काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास निर्माणको काममा तीव्रता दिएकोले हटाउन लागिएको आरोप लगाएका छन्। मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने कार्यक्रममा शनिबार सम्बोधन गर्दै उनले त्यसमा आफ्नै पार्टीका नेताहरु लागेको बताए।
‘यो सरकारले उधुम गर्न लाग्यो। यसलाई तुरुन्तै ढाल्नुपर्यो भनेर केही गर्दा ढाल्न सकिन्न भने हाम्रै पार्टीका है भन्ने केही कांग्रेसकहाँ दुइटाले दायाँबायाँ औंठाका सही छाप गरेर निवेदन हाल्न गएका छन्। दुईजना, एक हल निवेदन हाल्न गएका छन् कांग्रेसकहाँ– लौ न यो केपी ओलीले त उधुमै गर्न लाग्यो, हटाऔं यसलाई, यसलाई हटाउन कम से कम तपाईंहरुले नेतृत्व लिइदिनुपर्यो,’ उनले भने।
उनले प्रत्यक्षमा ११६ सिट जितेको पार्टी भत्काएर २३ सिट जितेको कांग्रेसलाई नेतृत्व गरिदिनुपर्यो भन्नु जनताको आदेश हो? भन्दै प्रश्न गरे। पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको नाम नलिई प्रधानमन्त्री ओलीले उनीहरुले लोकतन्त्र, विधि, पद्धति र पक्रियाको कुरा गर्ने भए पनि झुटा र नक्कली कुराको भ्रममा नपर्न आग्रह गरे।
‘त्यतापट्टि (सरकार ढाल्ने खेल) पट्टि तपाईंहरु चिन्ता नगर्नुस्। हामी ठेगान लगाइहाल्छौं तिनीहरुलाई। त्यता तपाईंहरु चिन्तै नगर्नुस्। हामी नै ठेगान लगाउँछौं,’ उनले सभामा उपस्थितहरुलाई आग्रह गरे, ‘विकासका काममा सरकारलाई आम जनताको साथ चाहिन्छ। तपाईंहरुको साथ भएपछि मुनामदनले भनेजस्तै ‘तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आशन’ भनेजस्तो। तपाईंको साथ पायौं भने देश विकासको कामलाई हाँक्न सक्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।