काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको अण्डासँग तुलना गरेका छन्। शनिबार आयोजित 'पार्टी समायोजन तथा पार्टी प्रवेश' कार्यक्रममा सम्बोधन गरेका उनले माओत्से तुङको भनाइलाई सन्दर्भ बनाउँदै प्रधानमन्त्री ओलीलाई अण्डासँग तुलना गरेका हुन्।
'एकचोटी माओत्से तुङले बिग्रेका कम्युनिस्टका बारेमा भन्दा सरल उदाहरण दिनुभएको थियो- अण्डा स्वास्थ्यका लागि हाम्रो हुन्छ। प्रोटिनयुक्त हुन्छ। धेरै चिज प्राप्त हुन्छ। राम्रो कुरा हो। तर, अण्डा कुहियो भने त्योभन्दा गन्हाउने चिज अरु केही पनि हुँदैन। कम्युनिस्टहरु राम्रा हुन्छन्। तर, गन्हाउन थाले र बिग्रिन थाले, कुहिए भने त्योभन्दा नराम्रो कोही पनि हुँदैन। केपी ओली त्यही कुहिएको अण्डा हो', प्रचण्डले भने, 'कुहिएको, गन्हाएको अण्डा त खाँइदैन नि त! त्यसलाई गाडिन्छ। या जलाइन्छ।'
सोही कार्यक्रममा माधवकुमार नेपालले केपी ओलीले फुर्ति देखाउने दिन गएको बताएका छन्। उनले ओलीलाई राजीनामा दिन आग्रह गरे। 'राजीनामा दिनुस्, नैतिकताको सानो अंश भए पनि देखाउनुस्', उनले भने, 'धेरै फूर्ति नदेखाउनुस्, फुर्ति देखाउने दिन गए।'
उनले अहिले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताए। त्यसका लागि प्रतिगमनका विरुद्ध उभिएकाहरु एकै ठाउँमा उभिनुपर्ने नेपालकाे भनाइ छ। उनले आफूहरुले नेतृत्व गरेको पार्टी नै मूल पार्टी भएको र सूर्य चिह्न पनि आफूहरुसँगै रहेको भन्दै भ्रममा नपर्ने नेता तथा कार्यकर्तालाई आग्रह गरे।
केपी ओलीको बहिर्गमनपछि पनि नेकपाले समाजवादको दिशामा अघि बढ्नुपर्ने बताए। उनले आफूहरु त्यो दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले केपी ओलीले प्रतिनिधि सभा विघटन गरेर प्रतिगामी कदम चालेको बताए। 'कम्युनिस्ट विचार बोक्ने मान्छेहरु प्रतिगमनको बाटोमा पनि लाग्दा रहेछन् भनेर उहाँले नकारात्मक उदाहरण दिनुभयो', नेता नेपालले भने।
सर्वोच्च अदालतको फैसलापछि प्रतिगमन विरुद्धको संघर्षले एक चरण सफलता हासिल गरेको बताए। उनले केपी ओली पार्टीको अध्यक्षबाट निष्कासित भइसकेपछि, पार्टी सदस्यबाट हटिसकेपछि, सर्वोच्चको फैसलाबाट समेत पराजित भइसकेपछि पनि कुनै नैतिकता नराखेर पदमा बसिरहँदा नेपाली जनता आश्चर्यचकित भएको बताए।
नेपालले युद्धको बाटोमा जान खोजेका नेकपा माओवादीका नेत्रविक्रम चन्द राजनीतिक मूल प्रवाहमा आएको बताए। 'तर, कम्युनिस्ट राजनीतिको मूल प्रवाहमा अझै आउन बाँकी छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।