काठमाडौं- नेकपाको प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले फुर्ति देखाउने दिन गएको बताएका छन्।
शनिबार आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा उनले ओलीलाई राजीनामा दिन आग्रह गरे। 'राजीनामा दिनुस्, नैतिकताको सानो अंश भए पनि देखाउनुस्', उनले भने, 'धेरै फूर्ति नदेखाउनुस्, फुर्ति देखाउने दिन गए।'
उनले अहिले ओलीलाई प्रधानमन्त्री हटाउनुपर्ने बताए। त्यसका लागि प्रतिगमनका विरुद्ध लागेकाहरू एकै ठाउँमा उभिनुपर्ने उनले बताए।
उनले आफूहरुले नेतृत्व गरेको पार्टी नै मूल पार्टी भएको र सूर्य चिह्न पनि आफूहरुसँगै रहेको भन्दै भ्रममा नपर्ने नेता तथा कार्यकर्तालाई आग्रह गरे।
केपी ओलीको बहिर्गमनपछि पनि नेकपाले समाजवादको दिशामा अघि बढ्नुपर्ने बताए। उनले आफूहरु त्यो दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले केपी ओलीले प्रतिनिधि सभा विघटन गरेर प्रतिगामी कदम चालेको बताए। 'कम्युनिस्ट विचार बोक्ने मान्छेहरु प्रतिगमनको बाटोमा पनि लाग्दा रहेछन् भनेर उहाँले नकारात्मक उदाहरण दिनुभयो', नेता नेपालले भने।
सर्वोच्च अदालतको फैसलापछि प्रतिगमन विरुद्धको संघर्षले एक चरण सफलता हासिल गरेको बताए। उनले केपी ओली पार्टीको अध्यक्षबाट निस्कासित भइसकेपछि, पार्टी सदस्यबाट हटिसकेपछि पनि अटेरी भएर अझै पनि कुनै नैतिकता नराखेर, सर्वोच्चको फैसलाबाट समेत पराजित भइसकेपछि पनि पदमा बसिरहँदा नेपाली जनता आश्चर्यचकित भएको बताए।
नेपालले युद्धको बाटोमा जान खोजेका नेकपा माओवादीका नेत्रविक्रम चन्द राजनीतिक मूल प्रवाहमा आएको बताए। 'तर, कम्युनिस्ट राजनीतिको मूल प्रवाहमा अझै आउन बाँकी छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।