काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई बधाई व्यक्त गरेकी छन्। खातुनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने घोषणा गरिएकोमा राष्ट्रपति भण्डारीले बधाई व्यक्त गरेकी हुन्।
शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत् खातुनलाई बधाई दिँदै राष्ट्रपति भण्डारीले पुरस्कार प्रदान गर्ने निर्णय गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद समेत भनेकी छन्।
‘एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद’, राष्ट्रपति भण्डारीले ट्विटरमा लेखेकी छन्।
अमेरिकी विदेश मन्त्रालयले यस वर्षको अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्यूओसी) पुरस्कार खातुनलाई दिनेबारे बिहीबार नेपालस्थित् अमेरिकी दूतावासले जानकारी गराएको थियो।
तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि यो पुरस्कार दिन लागिएको हो। ८ मार्चमा एक भर्चुअल पुरस्कार समारोहमा अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङ्कन सहभागी हुनेछन्। यो पुरस्कार पाउने मुस्कान अहिलेसम्मकै कम उमेरकी महिला हुन्।

आइडब्ल्युओसीले पुरस्कार व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणको वकालत तथा नेतृत्व गर्ने महिलाको सम्मान गर्ने बताइएको छ। यसअघि उक्त पुरस्कार पाकिस्तानमा महिला तथा किशोरीका लागि वकालत गर्ने मलाला युसुफजईले पाएकी थिइन्।
सन् २०१९ मा मुस्कान तेजाब हमलामा परेकी थिइन्। उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो। पीडाकै बीच पनि मुस्कानले आफूलाई परेको घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन्। धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायका लागि निरन्तर लागिन्।
सम्बन्धित समाचार :
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
'रूप जले पनि सपना जलेको छैन'
मुस्कान खातुनमाथि एसिड प्रहार गरेका अभियुक्तलाई बाल सुधार गृहमा राख्ने आदेश
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।