काठमाडौं–एसिड आक्रमणबाट घाइते भई उपचाररत मुस्कान खातुनले अपराधीहरुले आफ्नो रुप जलाए पनि आफ्नो सपना जलाउन नसकेको बताएकी छन्। प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले एसिड पीडितको अवस्था र चाल्नुपर्ने कदमका विषयमा आज गरेको छलफलमा उपस्थित भएकी उनले आफूमाथि त्यस्तो घटना भए पनि आफ्नो सपनालाई टुट्न नदिएको बताइन्।
‘देशका लागि केही गर्ने मेरो सानोदेखिको सपना थियो, त्यही सपना लिएर अगाडि बढिरहेकी थिएँ, तर यस्तो घटना भयो। तै पनि मेरो सपनालाई टुट्न दिएको छैन, जसरी भए पनि त्यसलाई पूरा गर्छु। ती अपराधीले मेरो मुख जलाए, तर मेरो सपना जलाएको छैन, सबैजनाको मोटिभेट पाएर म धेरै नै स्ट्रङ भएकी छु।’
उनले एसिड बेच्नेलाई अपराधीलाई जन्मकैद हुनुपर्ने माग पनि गरिन्। ‘हाम्रो दाग जाँदैन, जीवनभरिका लागि बस्छ, त्यसैले म भन्न चाहन्छु, अपराधीलाई जन्म कैद नै हुनुपर्छ,’उनले भनिन्।
उनले उपचारमा आर्थिक समस्या परेको समेत बताइन्। बुबाको काम पनि नभएकाले अहिले आर्थिक समस्या परिरहेको सुनाइन्। उनले भनिन्, ‘डाक्टरले ४/५ पटक औषधि लगाउन भन्नु भएको छ। पैसा नभएर अप्रेसन कसरी होला चिन्तित छु।’ उनले सरकारसँग उपचार खर्चको अनुरोधसमेत गरिन्।
उनले महिला समितिमा व्यक्त गरेका विचार:
बिहान ६ बजे पढ्न निस्केको थिएँ। दुई जना अपराधीहरु उभिइरहेका थिए जगमा एसिड लिएर। त्यो जगको एसिड पानी हो भनेर मलाई खान लगाए। तर मैले नखाँदा ममाथि एसिड हाने। उम्लेको पानीजस्तै मलाई अनुभव भयो। मेरो हातको कालो धब्बा हटाउन खोज्दा मासु नै निस्किेर आयो। त्यो देखेर म कराउन थालें। २ जना आउनुभयो र मेरो बाबाको नम्बर माग्नु भयो। नम्बर दिएँ।
मलाई एकदमै पोलिरहेको थियो। जलेको मासु खसिरहेको थियो। म बेहोस भएँ। अनि मलाई नारायणी अस्पताल लगियो।
हाम्रो आर्थिक अवस्था एकदम कमजोर थियो। मेरो बाबाले कमाएर सबैलाई सम्हालिरहनुभएको थियो। मलाई डर लागेको थियो। ‘बाबा, ममी मलाई के भयो, एकदमै पोलिरहेको छ, मेरो उपचार कहाँबाट गराउनुहुन्छ,’ भनें। अनि, बाबाले ‘तिमी चिन्ता नलेऊ, म जहाँबाट भए पनि उपचार गर्छु’, भन्नुभयो।
त्यो बेला हामीसँग एक रुपैयाँ पनि थिएन। त्यसबेला प्राप्त भएको ५० हजार सहयोगले कीर्तिपुर अस्पताल आइपुग्यौं। त्यहाँ उज्वलविक्रम थापा आइपुग्नुभयो, उहाँले धेरै नै मोटिभेट गराउनुभयो। ५–६ दिनपछि मेरो अपरेशन भयो। मुख्यमन्त्री लालबाबु राउतले ५ लाख दिने घोषणा गर्नुभयो। उहाँको पैसाले मेरो उपचार भयो।
अलि–अलि अरु नेपालीले सहयोग गरेर मेरो पहिलो अपरेशन भयो। दोस्रो अपरेशन पनि त्यही पैसाले भयो।
अहिले पवित्रा दिदीको एसिड आक्रमण भएको एक दिनअघि अस्पताल पुगें। अहिले पनि म हप्ताको २ पटक अस्पताल जानुपर्छ। एकदिन डाक्टरले अनुहारको अपरेशन गर्नुपर्छ भनेर भन्नुभयो। म एकदम चिन्तित छु, मेरो अपरेशन कहाँबाट हुन्छ भनेर। कतैबाट पनि सहयोग आएको छैन। यतिखेर मेरो बाबाको काम पनि छैन। मैले गर्दा मेरोसँगै भाइबहिनीको पनि पढाई रोकिएको छ। अनुहारमा लगाउने औषधि ४, ५ पटक लगाउने भने पनि आर्थिक अवस्था कमजोर भएका कारण दिनमा एक पटक मात्र लगाएकी छु।
म भन्न चाहन्छु,मेरोसहित सम्पूर्ण एसिडपीडितको उपचार सरकारले गरिदिनुपर्यो। र, सरकारले पीडितले चाहेअनुसार जागिरको पनि व्यवस्था गर्नुपर्यो। र, पढ्ने व्यवस्था गरिदिनुपर्यो।
देशका लािग केही गर्ने मेरो सानोदेखिको सपना थियो। त्यहीसपना लिएर अगाडि बढिरहेको थिएँ। तर यस्तो घटना भयो, तर पनि मेरो सपनालाई टुट्न दिएको छैन। जसरी भए पनि पूरा गर्छु। त्यो अपराधीले मेरो मुख जलाएको छ, मेरो सपना जलाएको छैन। म यसरी नै अगाडि बढ्छु, सबैजनाको मोटिभेट पाएर म धेरै नै स्ट्रङ भएको छु।
एसिड बेच्नेलाई कारबाही गर्नुपर्यो। अपराधीलाई जन्मकैद हुनुपर्यो, किनकि हाम्रो कानुनमा ५ देखि ८ वर्षसम्मको सजाय छ। रातदिनको गन्तीले ४ वर्षमै निस्कन्छ। हाम्रो पीडा कसैले बुझ्दैन।
हाम्रो दाग जाँदैन, जीवनभरिका लागि बस्छ। त्यसैले म भन्न चाहन्छु, अपराधीलाई जन्मकैद नै हुनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।