जनकपुर- वीरगन्ज-३ की मुस्कान खातुनमाथि एसिड प्रहार गरेका अभियुक्तलाई जिल्ला अदालत पर्साले बाल सुधार गृहमा राख्ने आदेश दिएको छ। अदालतले २ अभियुक्तलाई मुद्दा पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने बिहीबार आदेश दिएको हो।
खातुनमाथि एसिड प्रहार गरेका वीरगन्जकै माजिद मियाँ र सम्साद मियाँलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा माजिदले राखेको प्रेम प्रस्ताव मुस्कानले अस्विकार गरेपछि सम्सादको सहयोगमा खातनुमाथि एसिड प्रहार भएको हो। भदौ २० गते विद्यालय जाने क्रममा खातनुमाथि एसिड प्रहार भएको थियो।
स्रेस्तेदार कृष्णप्रसाद अधिकारीका अनुसार जिल्ला न्यायाधीश प्रकाश खरेलको एक नम्बर इजलासले अभियुक्तहरुको उमेर पुगेको प्रमाण पेस नभएकाले बाल सुधार गृहमा राख्ने आदेश दिएको हो।
जिल्ला प्रहरी कार्यालय, पर्साले संकलन गरेको प्रमाण र नारायणी अस्पतालले पठाएको मेडिकल रिपोर्टबीचमा दुवै अभियुक्तको उमेरमा अन्तर देखिएको थियो। मजीदको हकमा १९ वर्ष र शमशादको हकमा १८ वर्ष तोकेर प्रहरीले अभियोगपत्र दायर गरे पनि नारायणी अस्पतालले शमशादको उमेर १६ देखि १८ वर्ष र मजीदको १८ देखि २० वर्ष हुनसक्ने बताएको थियो।
जन्मदर्तामा भने मजीद २०६२ बैसाख १ गते र शमशाद २०६४ सालमा जन्मिएको उल्लेख छ।
मुख्य न्यायाधीश खरेलले प्रहरीले दाबी गरेको प्रमाण र मेडिकल रिपोर्टको आधार तुलना गर्दा न्यूनतम उमेरलाई कानुनले आधार मानेकोले सोहीअनुरूप दुवैजनाको उमेर १६ देखि १८ वर्ष देखिएकोले नाबालिगको हकमा बाल सुधारगृहमा पठाएको बताए। 'बालबालिका संरक्षण ऐन २०७५' अनुसार दुवैजनालाई सुधारगृहमा पठाइएको हो।
अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले नाबालिगको हकमा पुर्पक्ष नहुने भएकोले बाल सुधारगृह पठाइएको जानकारी दिए। बालिगको हकमा मुद्दा टुङ्गो नलागेसम्म कारागार पठाउने गरिएको र कारागारमा राखी अनुसन्धान प्रक्रिया पूरा गरी मुद्दाको छिनोफानो हुने गरेको उनले बताए।
प्रहरीले दुवैजनामाथि ज्यान मार्ने नियत तथा तेजाब लगायत अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पारेको मुद्दा दर्ता गरेको थियो। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अनुसार शमशादमाथि ५ देखि ८ वर्ष कैद र १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना तथा मजीदमाथि १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको मागदाबीसहित जिल्ला अदालतमा अनुसन्धान प्रतिवेदन दर्ता गरेको थियो।
भदौ २० गते वीरगन्ज-३ छपकैया निवासी मुस्कान खातुनमाथि वीरगन्जको गणेशमान चोक नजिक एसिड प्रहार भएको थियो।
बलिउड तथा नेपालका कलाकार तथा खेलाडीहरुले मुस्कानको स्वास्थ्यलाभको कामना तथा हौसला दिँदै आएका छन्। मुस्कानको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।