काठमाडौं–अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि चर्चामा आएको लागुऔषध प्रकरणले बलिउडका धेरै कलाकार विवादमा तानिए। चर्चित कलाकारसमेत अम्मली रहेको तथा ड्रग कारोबारमा संलग्न भएको रहस्य खुल्न थाले।
बलिउडमा ड्रग कनेक्सन गम्भीर रहेको पुष्टि भइसकेको छ। यसक्रममा लामो अध्ययनपछि नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले ३० हजार पानाभन्दा बढीको चार्जसिट तयार गरी अदालतमा पेस गरेको छ।
सुशान्तकी प्रेमिका रिया चक्रवर्तीसहित ३३ जनाविरुद्ध चार्जसिट तयार भएको एनसिबीका प्रमुख समीर वानखेडेलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
एनसिबीले तयार पारेको चार्जसिटमा ११ हजार ७ सय पानाको हार्ड कपी र सिडीमा प्रमाण दिइएको छ। सुशान्त सिंहको आत्महत्याको विषयमा छानविनको क्रममा बलिउडमा रहेको लागुऔषधको सञ्जाल पत्ता लागेको थियो।
उक्त केसमा रियासहित ड्रग सप्लायर्स विरुद्ध चार्जसिट तयार भएको हो। जसमा रियासहित शोविक, दिपेश सावन्त, स्यामुअल मिरान्डा र क्षितिज प्रसादलगायतको नाम सामेल रहेको छ। साथै चार्टसिटमा दुई सयभन्दा बढीको बयानसमेत समेटिएको छ।
आरोपीमध्ये केही अझै हिरासतमै रहेका छन् भने केही जमानतमा छुटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।