काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन्।
ओली शुक्रबार साँझ गौतम निवास पुगेका हुन्। गौतमको स्वास्थ्य स्थिति बुझ्न प्रधानमन्त्री ओली उनको निवास भैंसेपाटी पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
भेटमा राजनीतिक कुरा नभएको उनले बताए। गौतमको सचिवालयले पनि व्यक्तिगत भेटघाट मात्र भएको बतायो।
नेकपा दुई समूहमा विभाजित भएका बेला गौतम कुनै पक्षमा लागेका छैनन्। उनले पार्टी एकता अभियान घोषणा गरेका छन्।
प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई पनि गौतम निवास पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।