काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलका प्रमुख सेचतक (ओली पक्ष) विशाल भट्टराईले दलको नेता केपी शर्मा ओली नै रहेको दाबी गरेका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले प्रचण्ड–माधव पक्षले गरेको कारबाहीले कुनै मान्यता नपाउने उल्लेख गरेका छन्।
प्रचण्ड–माधव पक्षले बिहीबार संसद सचिवालयलाई ओलीसहितका नेताहरूलाई कारबाही गरेको जानकारी गराएको थियो। प्रचण्डले पत्र लेख्दै ओलीलाई संसदीय दलको नेता, सुवासचन्द्र नेम्वाङलाई उपनेता र शान्ता चौधरीलाई सचेतकबाट हटाइएको संसद सचिवालयलाई जानकारी गराएका थिए।
बुधबार बसेको प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई उक्त जिम्मेवारीबाट हटाउँदै ६ महिनाका लागि केन्द्रीय सदस्यबाट निल्बन समेत गरेको थियो। केन्द्रीय सदस्यबाट निलम्बित हुनेमा महेश बस्नेत, प्रभु साह, सूर्य थापा, कर्ण थापा लगायत पनि छन्।
तर, भट्टराईले भने संसद सचिवालयमा पेश गरिएको पत्रको कुनै कानुनी आधार, औचित्य र प्रभाव हुन नसक्ने बताएका छन्।
‘दलको विधान २०७५ बमोजिम विधिवत रुपमा चुनिनुभएका संसदीय दलका नेता पार्टीका प्रथम अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली रहनु भएको छ’, भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दलको विधान २०७५ बमोजिम संसदीय दलका नेता सम्माननीय प्रधानमन्त्री ओली, प्रतिनिधि सभा दलका उपनेता मा. सुवासचन्द्र नेम्वाङ, प्रतिनिधि सभा दलका मुख्य सचेतक मा. बिशाल भट्टराई, प्रतिनिधि सभा दलका सचेतक मा. शान्ता चौधरीबाट सुसञ्चान भइरहेको र हुने हुँदा संघीय संसद, संघीय संसद सचिवालय लगायत सबैमा कुनै द्विविधा तथा भ्रम उत्पन्न नहोस् भनि ध्यानाकर्षण गराउँदछौं।’
उनले निर्वाचन आयोगको माघ ११ गतेको निर्णय अनुसार नेकपाको बैठकको मान्यताप्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेको हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।