काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी ओलीले नै आफूहरुलाई अविश्वासको प्रस्तावको बाटोमा जान बाध्य बनाएको बताएका छन्। प्रचण्ड र माधवकुमार नेपाल पक्षको शुक्रबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ओलीले राजीनामा नदिए आफूहरु त्यही बाटो जाने बताए।
'अब आउने दिन सहज बनाउने हो भने, केपी ओलीले संसद् पुनःस्थापना भइसकेपछि र आज संसदीय दलको बहुमतले झन्डै ११५ जनाको हस्ताक्षरसहितको बहुमतले मलाई दलको नेता निर्वाचित गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अविलम्ब राजीनामा दिनु उहाँको लागि पनि, देशको लागि पनि सहज हुन्छ', उनले भने, 'अब उहाँ राजीनामा दिनुभएन भने हामी संविधान नियम कानुन प्रक्रिया अनुसार संसद्बाट नै समाधान खोज्छौं।'
प्रचण्डले प्रधानमन्त्रीको उम्मेद्वारको विषयमा आफूहरु छलफलमै रहेको बताए। 'सबै राजनीतिक दलहरु, जो हिजो संसद् विघटन गर्ने कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी भनेर सडकमा गए तिनीहरुसँग मुद्दाको हिसाबले हाम्रो सहकार्य हुन्छ। आन्दोलनमा सहकार्य भयो। भोलि सरकार बनाउने प्रक्रियामा पनि सहकार्य हुन्छ। हामी छलफलमा छौं। एकदुई दिनमा टुंगो लाग्छ', उनले भने।
दलको नेताको रुपमा चयन भएपछि प्रचण्डले नयाँ जिम्मेवारीलाई अवसर र चुनौतीको रुपमा लिएको प्रतिक्रिया दिए। उनले आफूले वैधानिक ढंगले जिम्मेवारी पाएको पनि बताए।
'वैधानिक रुपमा २५ प्रतिशत सदस्यले माग गरेअनुसार ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको बैठकले मलाई निर्वाचित गरेको हुनाले राजनीतिक मात्रै नभई वैधानिक ढंगले पनि दल नेताको जिम्मेवारी मैले प्राप्त गरेको छु। मैले यसलाई अवसर र चुनौतीको रुपमा लिएको छु', उनले भने।
अहिलेको परिस्थिति चुनौतीपूर्ण र धेरै ठूलो सम्भावनायुक्त रहेको उनको भनाइ थियो। यसअघि गत पुस ८ गते पनि उनी संसदीय दलको नेतामा चयन भएका थिए। तर, निर्वाचन आयोगले नेकपाको दुवै पक्षले गरेको निर्णय अस्वीकार गरिदिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।