काठमाडौं- नेपाली कांग्रेसका अधिकांश सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्न नहुने धारणा राखेका छन्। शुक्रबार बसेको संसदीय दलको बैठकमा सहभागी कांग्रेसहरूले नेकपाको एउटा समूहको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न नसकिने बताएका हुन्।
सांसद राजन केसी, भीमसेनदास प्रधानलगायतका अधिकांश सांसदले ओलीसँग सहकार्य गर्न नहुने बताएका छन्। संविधानको ‘हत्या गर्ने’ ओलीसँग सहकार्य गर्नु भनेको कांग्रेसको मूल्य, मान्यता विपरीत हुने उनीहरूको भनाइ छ।
संविधान उलंघन गरी प्रतिनिधि सभा विघटन गर्ने ओलीलाई साथ दिँदा लोकतन्त्रको मर्ममाथि नै प्रहार हुने उनीहरुको भनाइ छ।
२३ गते पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बोलाइएको सन्दर्भमा कांग्रेसले आज संसदीय दलको बैठक गरेको हो। आजै नेकपाको प्रचण्ड-माधव पक्षको संसदीय दलको बैठक बसेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ। ओली पक्षको संसदीय दलको बैठक भने भोलिका लागि बोलाइएको छ।
नेकपाको प्रचण्ड-माधव पक्षले यसअघि नै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहकार्यको प्रस्ताव गरेका थिए। कांग्रेसभित्र सरकार जाने र नजाने विषयमा मतान्तर छ।
सभापति देउवा कांग्रेसलाई प्रधानमन्त्री बन्ने अवस्था आए सरकारमा जानुपर्ने बताइरहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत उनीपक्षीय नेताहरू त्यसको विपक्षमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।