काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड'- माधवकुमार नेपाल पक्षको संसदीय दलको बैठकप्रति व्यंग्य गरेका छन्। शुक्रबार नै बसेको प्रचण्ड-माधव पक्षीय नेकपाको संसदीय दलको बैठकप्रति उनले व्यंग्य गरेका हुन्।
‘कुन दलको संसदीय दलकाे बैठक बस्दैछ रे। कुन दलकाे हो थाहा छैन। उहाँहरु मरि मेटेर लाग्नुभएको छ’, उनले भने, ‘उहाँहरु देखेर अचम्म लाग्छ। यत्ति सारो नग्नताको पनि यो हद? आफ्नो प्रधानमन्त्री छोड्ने अनि किस्तिमा लिएर खाइदिनुस् भन्दै हिँड्नु भएको छ।’
उनले आफू नेतृत्वको दुई तिहाइको सरकार भत्काउने काम भइरहेको दाबी गरे। ‘नेतृत्व छोड्ने तर नेतृत्वमा नआउने कुन मार्क्सवाद हो। मलाई थाहा छैन’, उनले भने, ‘हामी कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव राख्दैनौं। हामी देशको राजनीतिक अस्थिरतातर्फ नजाऔं र स्थिरतातर्फ जाऔं भनेर प्रतिनिधि सभा विघटन गरेका थियौं। तर फिर्ता आएको छ। यो सँगै तमासा सुरु भएको छ। नेपाली जनताले यो हेर्दै र भोग्दै जानुपर्ला।’
शुक्रबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग तीन बुँदे सहमतिपछि आयोजित कार्यक्रममा उनले २०७३ सालमा पनि यसैगरी आफ्नो सरकार ढालिएको स्मरमण गरे।
‘हामी जस्केलाबाट होइन, मुल ढोकाबाट निर्वाचनमार्फत् आउँछौं भनेका थियाैं’, ओलीले भने ‘निर्वाचनपछि सिंहदरबारको मुल गेटबाट हामी आएका हौं।’
उनले कसैलाई अध्यक्ष हुन मन लागे महाधिवेशबाट हुन भने। प्रधानमन्त्री हुन परे जनताबाट छानिएर हुने र जालझेलबाट नहुने उनको भनाइ छ। ‘केही मान्छेले कम्युनिस्ट आन्दोलन बदनाम गर्न खोजेपनि हुँदैन’, उनले भने ‘अहिलेको सरकार सफल सरकार हो। भ्रष्टाचार रोक्न र विकास गर्न सफल राष्ट्र भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।