काठमाडाैं– नेकपा (प्रचण्ड–माधव) पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको छ।
सिंहदरबारमा बिहीबार बसेकाे बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरेकाे हाे। यसअघि पुस ८ गते प्रचण्ड–माधव पक्षका अध्यक्ष एवं सांसद माधवकुमार नेपालको प्रस्तावमा प्रचण्डलाई दलको नेता चयन गरिएको थियो।
तर, निर्वाचन आयोगले माघ ११ गते नेकपा फुटिनसकेको निर्णय सुनाएको थियो। आयोगले दुवै पक्षले आ–आफ्नो तर्फबाट गरेका निर्णय नमान्ने बताएको थियो।
बैठकअघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर सङ्कलन समेत गरेको थियो। यसअघि नेकपाको ओली समूहमा लागेका सांसदद्वय माया ज्ञवाली र कलिला खातु पनि आज प्रचण्ड–माधव पक्षको बैठकमा सहभागी छन्।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि नेकपा राजनितिक रुपमा विभाजित छ। एउटा पक्षको नेतृत्व प्रचण्ड–माधवले गरेका छन् भने अर्को पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन्।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपनि नेकपा विवादमा आयोगले कुनै निर्णय गरेको छैन। प्रचण्ड–माधव पक्षले आफूहरु नै आधिकारिक भन्दै आयोगमा दाबी पेश गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।