काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरु तीन बुँदे सहमतिप्रति प्रतिबद्ध भएको बताएका छन्।
शुक्रबार सहमति पत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन्। सहमति पत्रमा हस्ताक्षर गरेपछि विप्लवले सम्बोधन गरिरहेका छन्।
'तीन बुँदेमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध छ। हामी यसलाई पालना गर्छौं। यसमा कसैले पनि आशंका र उत्तेजनात्मक, अर्को अर्थमा कुतर्क गर्न जरुरी छैन', उनले भने।
सहमतिमा नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएको उल्लेख छ।
यी हुन् सहमति पत्रका बुँदा
नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टीबीच निम्न लिखित सहमति भएको छ।
१. नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं।
२. नेपाल कम्युनिष्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ।
३. नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।