सिंहदरबारमा बसेको नेकपा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक।
काठमाडौं- नेकपाको प्रचण्ड-माधव पक्षले संसदीय दलको नेता चुन्ने तयारी गरेको छ। सिंहदरबारमा जारी उक्त पक्षको संसदीय दलको बैठकबाट दलको नेता चुन्ने तयारी गरिएको हो।
बैठकमा बहुत सांसदको उपस्थिति रहेको दाबी गरिएको छ। यसअघि नेकपाको ओली समूहमा लागेका सांसदद्वय माया ज्ञवाली र कलिला खातु पनि आज प्रचण्ड–माधव पक्षको बैठकमा सहभागी छन्।
यसअघि पुस ८ गते प्रचण्ड–माधव पक्षका अध्यक्ष एवं सांसद माधवकुमार नेपालको प्रस्तावमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दलको नेता चयन गरिएको थियो। तर, निर्वाचन आयोगले माघ ११ गते नेकपा फुटिनसकेको निर्णय सुनाएको थियो। आयोगले दुवै पक्षले आ–आफ्नो तर्फबाट गरेका निर्णय नमान्ने बताएको थियो।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि नेकपा राजनितिक रुपमा विभाजित छ। एउटा पक्षको नेतृत्व प्रचण्ड–माधवले गरेका छन् भने अर्को पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन्।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपनि नेकपा विवादमा आयोगले कुनै निर्णय गरेको छैन। प्रचण्ड–माधव पक्षले आफूहरु नै आधिकारिक भन्दै आयोगमा दाबी पेश गरिसकेका छन्।
प्रतिनिधि सभा पुनःस्थापनापछि आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ। ओली पक्षले भोलि, शनिबार दलको बैठक बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।