काठमाडौं–सरकारसँग भएको वार्तापछि तीन बुँदे सहमति भएसँगै जेलमा रहेका नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका नेता तथा कार्यकर्ता रिहा हुन थालेका छन्।
सोही क्रममा काभ्रेबाट ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य धर्मेन्द्र बास्तोला शुक्रबार बिहान रिहा भएको काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए।
आगजनी तथा संगठित अपराध मुद्दामा ११ दिनदेखि काभ्रेमा बन्दी रहेका बास्तोलालाई श्रीमती हिमा बास्तोलाको जिम्मा लगाइएको प्रहरीले बताएको छ। उनलाई २९ पुसमा मकवानपुर र ललितपुरको सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो।
बिहीबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले ‘विप्लव’को पार्टीमाथि लगाएको प्रतिबन्ध हटाइसकेको छ । बिहीबार साँझ नै गृहमन्त्रालयले शुक्रबारसम्म सबै नेता कार्यकर्तालाई रिहा गर्न देशभर सर्कुलर जारी गरेको थियो। तत्कल हिरासतमा रहेका नेता, कार्यकर्तालाई छाडिने र विस्तारै जेलमा रहेकालाई मुक्त गरिने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।