काठमाडाैं– भारतको आयकर विभागले बलिउड निर्देशक तथा निर्माता अनुराग कश्यप र अभिनेत्री तापसी पन्नूको घरमा दाेस्राे दिन छापा मारेको छ।
अभिनेत्री तापसी र निर्माता अनुराग, विकास बहल, विक्रमादित्य मोटवानी र मधु मन्तेनाले कर छलेकाे आशंकामा छापा मारिएकाे हाे।
तापसी र अनुरागको घरसँगै केआरआई ईन्टरटेन्मेन्टको कार्यालयमा पनि छापा मारिएकाे छ। आईटी विभागका अधिकारीहरूले उनीहरुकाे कार्यालयबाट ३ ल्यापटप र ४ कम्प्युटरसमेत जफत गरेका छन्।
स्रोतका अनुसार केआरआई ईन्टरटेन्मेन्ट र फ्यान्टम फिल्म्सबीच धेरै पैसा लेनदेन गरिएकाे थियाे।
यस मामिलामा फ्यान्टम फिल्म्स, रिलायन्स ईन्टरटेन्मेन्ट, क्वान ट्यालेन्ट हन्ट कम्पनी र एक्साइड कम्पनीको कार्यालयमा पनि छापामारिएकाे छ। स्रोतका अनुसार यो छापा अर्को तीन दिनसम्म चल्ने छ।
स्राेतका अनुसार अनुराग र तापसीलाई बुधबारदेखि विभागका अधिकारीहरुले पुणेमा केरकार गरिराखेका छन्। उनीहरुलाई एक होटलमा राखिएको जनाइएकाे छ।
सन् २०११ मा सुरू गरिएको फ्यान्टम फिल्म्स कम्पनी सन् २०१८ मा बन्द गरिएको थियो।
तीन वर्षपछि मधु मान्तेनाले कश्यप, मोटवाणे र बहलको शेयर किनेका थिए। उक्त कम्पनीले लूटेरा, एनएच१०, मसान, उडता पञ्जाब र रमन राधव २.० जस्ता फिल्म बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।