फाइल तस्बिर।
काठमाडौं- नेकपाको पुष्कमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका नेताहरू निर्वाचन आयोग जाने भएका छन्। आयोगले दल सम्बन्धी आधिकारिकता दिन आनाकानी गर्न थालेपछि प्रचण्ड-माधव पक्ष आयोग जान लागेको हो। उनीहरू केहीबेरपछि आयोग पुग्नेछन्।
सबै केन्द्रीय सदस्यको नागरिकतासहित अरु प्रमाणपत्र जम्मा भइसकेकाले केही प्रतिनिधि मात्रै निर्वाचन जाने तयारी गरिएको कार्यालय उपसचिव मोहन गौतमले बताए। बहुमत केन्द्रीय सदस्यको प्रमाण लिएर प्रचण्ड-माधव पक्ष आयोग जान लागेका हुन्।
प्रचण्ड–माधव पक्षीय स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि आयोग जान लागेको पुष्टि गरे। ‘हामी केही साथीहरू निर्वाचन आयोग जाँदैछौं’, पाण्डेले भने।
प्रचण्ड-माधव पक्षले बिहीबार सबै केन्द्रीय सदस्य र सांसदलाई पार्टी कार्यलय पेरिसडाँडा उपस्थित हुन आग्रह गरेको थियो। सोही सूचनाका आधारमा सबै केन्द्रीय सदस्य र सांसाद १२ बजे पार्टी कार्यालय उपस्थित भएका थिए।
आयोगले ११ माघमा नेकपा विभाजन नै नभएको र अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' भएको निर्णय सुनाएको थियो। उक्त निर्णयमा असन्तुष्टि जनाउँदै प्रचण्ड-माधव पक्षले बहुमत केन्द्रीय सदस्यलाई आधार मानेर दलको आधिकारिकता दिन आग्रह गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।