काठमाडौं–आधुनिक स्वादमा परम्परागत नेपाली रेसिपी पुनर्जीवित गर्ने उद्देश्यले नयाँ नेपाली डेसर्ट ब्राण्ड माक्कुसे बजारमा आएको छ। माक्कुसे ब्राण्डबाट हाल परम्परागत पुष्टकारी, गुलाबजल र पिस्ता सहितको गुदपाक, मोका (कफी मिश्रित) गुदपाक, चकलेट र गुदपाकबाट बनेको कुकिज, ओटमिल र पम्किन सिडबाट बनेको कुकिज उपलब्ध छन्।
माक्कुसेका उत्पादन परम्परागत नेपाली डेसर्टबाट प्रेरित रहेको बताइएको छ। पहिलेको स्वाद र नयाँ तरिकामा खुवा प्रयोग गरी बनाइएको यी उत्पादनले पुराना र नयाँ स्वादलाई सन्तुलन गर्ने बताइएको छ। ‘गुदपाक, पुष्टकारी मिठो स्वादका लागि मात्रै होइन, पोषणका लागि पनि उत्तिकै महत्त्व बोकेको छ,’ माक्कुसेका सिइओ तथा सह–संस्थापक अनुष्का श्रेष्ठ भन्छिन्, ‘हामीले यसको ठेट स्वादलाई कायम गरी आधुनिक तरिकाबाट प्रस्तुत गर्न खोजेका छौँ।’
मिस वर्ल्ड नेपाल २०१९ को विजेता समेत रहेकी अनुष्का मिस वर्ल्डमा सहभागी भएर फर्केपछि विश्वमाझ नेपाललाई चिनाउने भोक आफूमा जागेको र सोही चाहनालाई पछ्याउँदै माक्कुसेको स्थापना गरेको बताउँछिन्। हाल माकुसेलाई अनुस्काले नै नेतृत्व गरिरहेकी छिन्। अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनपछि नेपाल फर्केर व्यवसायमा लागेकी अनुस्का बिदेशमा अर्जन गरेको सीप र ज्ञान स्वदेशमा सदुपयोग गर्नुपर्नेमा विश्वास राखेको बताउँछिन्।
परम्परागत डेसर्टलाई बजारमा ल्याएर व्यवसायमा जम्न सजिलो नभएको श्रेष्ठको भनाइ छ। माक्कुसे सुरु गर्नै लाग्दा कोभिड–१९ का कारण समय जटिल बने पनि युवा तथा महिला उद्यमीको सामूहिक प्रयासमा गुणस्तरीय उत्पादन गर्न सफल भएको उनको भनाइ छ।
माक्कुसेको सामाजिक सञ्जाल र लोकप्रिय नेपाली ईकमर्स ग्यापु मार्केटप्लेसको मोबाइल एप तथा वेबसाइटमार्फत नेपालभर घरैमा डेलिभरी हुने उनले बताइन्। ग्यापु मार्फत नै विदेशमा रहेकाले पनि डेबिट\क्रेडिट कार्ड प्रयोग गरी नेपालमा रहेका आफन्तलाई माक्कुसेका उत्पादन उपहार पठाउने व्यवस्था समेत मिलाइएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।