काठमाडौं–बुधबार बिहान र साँझ दुई चरणमा वार्ता गरेको सरकारी टोली र ‘विप्लव’ समूहबीच आज पनि बिहानैदेखि बालुवाटारमा वार्ता जारी छ। आज तेस्रो चरणको वार्ता भइरहेको गृहमन्त्रालय स्रोतले जनाएको छ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापासँगै प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी छन् भने ‘विप्लव’ समूहका तर्फबाट प्रवक्ता ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य ‘दीपक’ सहभागी छन् ।
सरकारी टोलीले हिजोको वार्ता सकारातमक भएको प्रतिक्रिया दिएको थियो भने वार्ता सकारात्मक दिशामा अघि बढेको ‘विप्लव’ समूहको प्रतिक्रिया थियो।
आज वार्ता निष्कर्षमा पुगेमा साँझसम्म वा भोलि बिहान संयुक्त पत्रकार सम्मेलन गरिने ‘विप्लव’ समूहका एक नेताले बताए।
बुधबार दुई पटकसम्म भएको वार्तापछि सबै विषयमा टुंगो लगाउन आज पुनः बैठक बसेको हो। हिजोको वार्तामा ‘विप्लव’माथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तथा कार्यकर्तामाथिको मुद्दा फिर्ता गर्ने विषयमा प्रारम्भिक सहमति भएको बताइएको छ।
यसअघि, सरकारले फागुन २८, २०७५ मा ‘विप्लव’ नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएको थियो। त्यसबेला हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै प्रतिबन्ध लगाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।