चितवन- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एउटै मञ्चमा दोहोरी चलेको छ। देउवाले प्रधानमन्त्री पाए पछि नहट्ने बताउँदा पौडेलले भने कांग्रेस प्रतिपक्षमै बस्नुपर्ने बताए।
नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १०औँ दिनको पूण्यतिथिमा बुधबार चितवनमा आयोजित शोकसभामा देउवा र पौडेलबाट फरक-फरक धारणा आएको हो।
देउवाभन्दा अघि बोलेका वरिष्ठ नेता पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताएका थिए। पौडेलको जवाफमा देउवाले काँधमा जिम्मेवारी आए नभाग्ने बताएका हुन्। ‘कांग्रेसले पदको लोभ पनि गरेको छैन। टाउकामा आयो भने भाग्ने पनि छैन। प्रधानमन्त्री पाउँ पनि भनेको छैन। आयो भने भाग्नेवाला पनि छैन।’
आफू प्रधानमन्त्री भएमा पार्टीलाई फाइदै हुने देउवाको दाबी छ। ‘चिन्ता नलिनुस् रामचन्द्रजी, म पार्टीकै मान्छे प्रधानमन्त्री भयो भने अरुको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला’, उनले भने, ‘तपाईं शेरबहादुरजी हुनै हुँदैन भन्ने चाहानुहुन्नजस्तो लाग्छ। तपाईंको भनाइबाट त्यही बुझियो।’
पौडेललाई सानो चित्त नगर्न र विशाल हृदय राख्न आग्रह गर्दै उनले अबको राजनीतिमा जे आउँछ, त्यो व्यहोर्दै जानुपर्ने बताए।
वरिष्ठ नेता पौडेलले भने अहिले नेपाली कांग्रेस प्रतिपक्षमा भएको भन्दै जुन हैसियतमा संसद्मा छ त्यसैअनुसार अघि बढ्नुपर्ने बताएका थिए। ‘विपक्षी दलको सही भूमिका कांग्रेसले निर्वाह गर्नुपर्छ’, उनले भने।
पौडेलले विकृतिबाट लोकतन्त्रलाई बचाउनुपर्ने बताए। ‘वास्तवमा कसैले आफ्नो हैसियत र औकातभन्दा बढी आकांक्षा राख्नु महत्वकांक्षा हो र यो विकृति हो’, उनले भने। पौडेलले लोकतन्त्रमाथि देशी विदेशी षडयन्त्र भइरहेको पनि दाबी गरे।
कार्यक्रममा कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको लोकतन्त्र स्थापनामा रानाभाटले पुर्याएको योगदान सह्रानिय रहेको बताए। कांग्रेस नेता रानाभाटको यही फागुन १० गते ६६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो। उनी प्रतिनिधि सभाका पूर्वसांसद समेत हुन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।