काठमाडाैं- प्रदेश १ को प्रदेश सभा बैठक बस्नुभन्दा अघिल्लो दिन सभामुखले सूचना टाँसेर स्थगित गरेपछि मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल पछाडि धकेलिएको छ।
प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले चैत २ गतेसम्मका लागि बैठक स्थगित भएको सूचना बुधबार निकालेका हुन्। यसअघि भोलि फागुन २० गते, बिहीबारसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको थियो।
तर, चैत २ गतेसम्मका लागि बैठक स्थगित भएको सूचनासँगै मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफल फेरि २ हप्ता पछि धकेलिएको हो।
फागुन ९ गते प्रदेश सभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेबित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए।
प्रदेश सभाका सचिव पराजुलीले बुधबार सूचना जारी गर्दै फागुन २० गतेका लागि बोलाइएको बैठक विशेष कारणले सरेको जानकारी दिएका छन्।
उनका अनुसार अबको बैठक चैत २ गते सोमबार १२ः३० बजे बस्ने छ। मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड-माधव समूहले पुस १२ गते अविश्वास प्रस्ताव पेश गरेको थियो। तर, उक्त प्रस्तावमाथि अहिलेसम्म छलफल भएको छैन।
मुख्यमन्त्री राई ओली पक्षका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।