काठमाडाैं- नेकपाको प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकमा ओलीलाई संसदीय दलको नेताबाट हटाउने अजेण्डा तय गरिएको छ।
केहीबेर अघि सकिएको उक्त पक्षको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका लागि अजेण्डा तय गरेको हो। स्थायी कमिटी बैठकले २३ गते बस्ने संसद बैठकमा प्रभावकारी उपस्थिति देखाउने पनि निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश शाहले बताए।
स्थायी कमिटी बैठक सकिएपछि अहिले केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिने अपेक्षा गरिएको थियो। तर, प्रधानमन्त्री ओली सरकार छाड्ने मूडमा नदेखिएपछि प्रचण्ड–माधव पक्ष दबाबमा छ।
प्रचण्ड-माधव पक्षले यसअघि नै दर्ता गराएको अविश्वास प्रस्तावमाथि भने अन्य दलसँग छलफल गरेर अघि बढाउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।