काठमाडौं–सरकार र विप्लव नेकपाबीचको पहिलो चरणको वार्तामा विप्लव समूहले उठाएका शर्तका सन्दर्भमा कुरा भएको बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा भएको वार्तामा शर्त पूरा भएपछि एजेण्डामा प्रवेश गरिने विप्लव नेकपा स्रोतले जानकारी दिएको छ।
विप्लव नेकपा स्रोतले नेपाल लाइभलाई भन्यो, ‘प्रतिबन्ध फुकुवा र पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने निर्णय सरकारले गर्यो भने राजनीतिक एजेण्डामा प्रवेश गरिनेछ।’ राज्य इमान्दार भयो भने संवाद अघि बढाउन विप्लव नेकपा स्वाभाविक रुपमा सकरात्मक हुने उक्त पक्षको भनाइ छ।
बुधबारको बैठकमा पक्राउ परेका र जघन्य अपराधको मुद्दा लागेका नेता\कार्यकर्ता रिहाइका सन्दर्भमा कानुनी प्रक्रिया के हुने भन्ने विषयमा छलफल भएको बताइएकोे छ।
विप्लव नेकपाका कतिपय नेता कार्यकर्ता ज्यान मार्ने उद्योग, हात हतियार खरखजना, संगठित अपराधलगायत मुद्दा खेपिरहेका छन्। सरकारले यस्ता मुद्दामा राज्यको भन्दा अदालती कुरा हुने बताउँदै आएको छ। सरकारी पक्षको बोलीबारे विप्लव निकट एक नेताले भने, ‘राजनीतिक प्रकृतिको मुद्दा सरकारले सम्वोधन गर्न सक्ने भयो। जघन्य मुद्दा लागेकालाई त्यसका विषयमा अदालत बोल्छ। सरकार बोलेर हुँदैन।’
अदालती प्रक्रियामा गएका मुद्दाको निरुपणका लागि कुनै मोडल तयार गर्ने विषयमा छलफल भएको बताइएको छ। पहिलो चरणको बैठक रिहाइको मोडालिटीकै सन्दर्भमा केन्द्रित रहेको विप्लव पक्षले जनाएको छ।
विप्लव पक्षले पक्राउ परेका कतिपय घटना नाटकीय बनाइएको आरोप लगाउँदै आएको छ। रिहाइका सन्दर्भमा सरकार लचक हुनुपर्ने विप्लव नेकपाको माग छ। आजको बैठकमा प्रतिबन्ध फुकुवा र पक्राउ परेकालाई रिहाइको सन्दर्भमा कुरा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।