काठमाडौं– काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने ‘काठमाडौं मेयर कप’ क्रिकेटमा पहिलो दिन नै दुई खेल हुने भएका छन्।
आउने २२ गते सुरु हुने प्रतियोगितामा पहिलो दिन त्रिभुवन आर्मी क्लब र एपीएफबीचको खेल कीर्तिपुर मैदानमा साथै नेपाल पुलिस क्लब र वागमती प्रदेशबीचको खेल मूलपानी मैदानमा हुनेछ।
प्रतियोगितामा गएको माघ २ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुगेका चार टिम (त्रिभुवन आर्मी क्लब, एपिएफ, नेपाल पुलिस क्लब, बागमती प्रदेश) सहित एक नयाँ टिम ‘काठमाडौं मेयर एघार’को सहभागिता हुनेछ।
काठमाडौं महानगरको टिममा रहने खेलाडी प्रधानमन्त्री कपमा गरेको प्रदर्शनका आधारमा प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम टिमबाट क्यानले छनोट गरेको हो।
जसमा सिद्धान्त लोहनी, विवेक यादव, अर्जुन कुमाल, सौरभ खनाल, विक्रम भुसाल, अनुज चुनारा, रविन्द्र जंग शाही, नारायण जोशी, हरिशंकर साह, विपिन खत्री, कृष्ण कार्की, अनिल खरेल, सन्दीप रजाली, विपिन रावल र खड्ग बहादुर बोहरा छन्।
प्रतियोगिता आयोजनाका लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख रुपैयाँ दिने सहमति गएको माघ २० गते नै भएको हो।
यस्तो छ खेल तालिका
फागुन २२– त्रिभुवन आर्मी भर्सेस एपिएफ (कीर्तिपुर), नेपाल पुलिस क्लब भर्सेस वागमती प्रदेश (मूलपानी)
फागुन २३– एपिएफ भर्सेस नेपाल पुलिस (कीर्तिपुर), काठमाडौं मेयर एघार भर्सेस वागमती प्रदेश (मूलपानी)
फागुन २४– त्रिभुवन आर्मी क्लब भर्सेस काठमाडौं मेयर एघार (कीर्तिपुर)
फागुन २५– वागमती प्रदेश भर्सेस एपिएफ (कीर्तिपुर), नेपाल पुलिस क्लब भर्सेस त्रिभुवन आर्मी क्लब (मूलपानी)
फागुन २६– काठमाडौं मेयर एघार भर्सेस नेपाल पुलिस क्लब (कीर्तिपुर)
फागुन २७– वागमती प्रदेश भर्सेस त्रिभुवन आर्मी क्लब (कीर्तिपुर), एपिएफ भर्सेस काठमाडौं मेयर एघार (मूलपानी)
फागुन २८– विश्राम
फागुन २९– शीर्ष दुई टिमबीच फाइनल खेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।