काठमाडौं– सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न टोली बनाएको छ। गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन्।
वार्ताका लागि सरकारले आजै टोली गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए। उनले विप्लव नेतृत्वको नेकपा चाँडै वार्तामा आउने अपेक्षा व्यक्त गरे।
'उहाँहरूको तर्फबाट पनि चाँडै वार्ता टाेली गठन हुने अपेक्षा छ। हतियार व्यवस्थापन र मुद्दा फिर्ताकाे विषयमा वार्ताबाटै टुंगाे लगाइनेछ', सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरूङले भने।
फागुन ८ तगे नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै आफूहरू वार्ताका लागि सकारात्मक रहेको बताएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चन्द नेतृत्वको नेकपालाई २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो। त्यसपछि विप्लवसहितका नेताहरू भूमिगत भएका थिए।
यसबीचमा प्रहरीले विप्लव नेतृत्वको नेकपाका सयौं नेता/कार्यकर्तालाई पक्राउ गरि मुद्दा चलाएको छ। उक्त पक्षका उच्च तहका नेताहरु, हेमन्त ओली 'सुदर्शन' नख्खु कागारामा छन् भने धर्मेन्त बाँस्तोला 'कञ्चनलाई प्रहरीले केही समय पहिले पक्राउ गरेर अनुसन्धान गरिहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।