काठमाडौं–मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोला मृत्यु प्रकरणको अनुसन्धान फाइलमा मृतकको भनेर फरक व्यक्तिको फोटो राखिएको पुष्टि भएको छ। मृतक भनेर फरक व्यक्तिको फोटो राखिएको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय मोरङले डिएसपी मानबहादुर राईको संयोजकत्वमा छानबिन समिति बनाएको थियो। समितिले सोमबार प्रतिवेदन बुझाएको छ। छानबिनका क्रममा मृतकका तीन वटा फोटामध्ये एउटा फोटो अर्कै भएको पाइएको मोरङका एसपी सन्तोष खड्काले बताए।
उर्लाबारी रहस्यमय मृत्यु घटना: दुई महिनापछि किन भयो दिनहुँ आन्दोलन?
खराब नियतले भन्दा पनि एउटा फोटो भुलवश पर्न गएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर उद्धव पोखरेलले बताएको समितिको प्रतिवेदनमा उल्लेख छ। तस्बीर फरक परे पनि मृतकको परिचय र अन्य तथ्यहरु नफेरिएका समितिको निष्कर्ष छ। गत पुस ५ गते बास्तोला मृत भए पनि दुई महिनापछि यो घटना चर्चामा आएको छ। यसको मुख्य कारण प्रहरी मिसिलमा मृतक भनेर अर्कै व्यक्तिको फोटो राखिएको आरोप थियो।
पीडित परिवारले अनुसन्धान प्रगतिबारे जिज्ञासा राखेर अनुसन्धान फाइल हेरेपछि मृतक प्रवीण भनेर अर्कै व्यक्तिको फोटा राखेको देखेपछि प्रहरीले नक्कली मिसिल तयार पारेको भन्दै पीडितका परिवारले सार्वजनिक रुपमा बोलेका थिए। त्यसपछि छानबिन गरेको प्रहरीले पनि प्रवीणका परिवारले भनेजस्तै मृतक भनेर अर्कै व्यक्तिको फोटो राखिएको पुष्टि गरेको हो।
उर्लाबारी घटना : एक अभियुक्त जेल चलान, एक जना धरौटीमा रिहा
यस घटनामा पीडित पक्षले ६ जनालाई प्रतिवादी बनाउँदै किटानी जाहेरी दिएका थिए। पक्राउ परेका ६ जनालाई यसअघि सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको भन्दै छाडेको थियो। मृतकको नक्कली फोटो राखिएको विषय सार्वजनिक भएपछि प्रहरीले पुन अनुसन्धान मिसिल सरकारी वकिल कार्यालयमा पठाएको थियो। त्यसपछि मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
सो क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो भने चार जना फरार भएका थिए। पक्राउ परेका दुई जना मध्ये होटल सञ्चालक कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो भने रिकेश सिवा भन्ने मेहरमान दजीलाई पुर्पक्षका लागि जेल पठाएको थियो। केही दिनअघि मात्रै प्रहरीले फेरि प्रतिवादी मध्येका एक रमेश गिरीलाई पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।